दशैं विदामा यी हुन सक्छन् घुम्न जाने गन्तव्य

by समतल अनलाइन

काठमाडौं । पछिल्ला समय नेपालीहरुमा विदाका दिनहरुमा घुम्न जाने संस्कृतिको विकास भइरहेको छ । निरन्तरको काम र थकानबाट दिक्क हुँदा सोचिन्छ—‘कतै घुम्न जाने’ ।

आर्थिक रुपमा सम्पन्नहरु विदा वा फुर्सदमा भ्रमणका लागि विदेशसम्म पुग्छन् भने मध्यम वर्गीय मानिसहरु स्वदेशकै विभिन्न स्थानमा पुगेर रमाइलो गर्ने गर्छन् ।

दशैंमा परिवारसँग मात्र नभई साथीसङ्गी घुम्न जाने प्रचलन पनि छ । विशेषगरी दशैंको लामो विदामा घुम्न जाने चलनको विकास भएको छ ।
न त चिसो न त गर्मी । यो मौसम घुम्नका लागि पनि अत्यन्तै राम्रो छ ।

यो दशैंमा भरपुर मनोरञ्जन लिने सोचमा हुनुहुन्छ ? त्यसकालागि घुम्न जाने गन्तव्य तय गर्नुस् । स्वदेशमै यस्ता रमणीय स्थानहरु पनि छन् जहाँ पुग्दा आनन्दको अनुभुति मिल्नेछ । त्यसमध्ये केही स्थानबारे हामी यहाँ चर्चा गर्दैछौं ।

पोखरा

नेपालको प्रसिद्ध पर्यटीय स्थल हो पाखरा । जहाँ घुम्न जानका लागि वर्षभरि नै आन्तरिक र बाह्य पर्यटकहरुको घुँइचो हुने गर्छ । फेवातालमा पर्ने माछापुच्छ्रेको छाँया हेर्दै डुंगा चढ्न र रमणीय हिमालहरु अवलोकन गर्न होस्, पोखरा पुगेपछिको आन्नद छुट्टै हुन्छ ।

पोखरामा डेबिड फल, गुफा पस्न, छाँगा छहरा हेर्न, बिन्दावासिनी, तालबराही लगायतका प्रसिद्ध धार्मिक स्थलको अवलोकन गर्न पाइन्छ । साथै पोखरामा प्याराग्लाइडिङको समेत मज्जा लिन पाइन्छ ।

काठमाडौंबाट सार्वजनिक सवारी साधन पनि पोखरा सजिलै पुग्न सकिन्छ । साथै निजी सवारी साधनमा जाँदा पनि सडकको अवस्था राम्रो भएकाले पोखरा पुग्न धेरै सयम लाग्दैन । हवाइ सेवामार्फत त झन १५ मिनेटमा नै पोखरा पुग्न सकिन्छ ।

खप्तड

खप्तड सुदुरपश्चिमको प्रसिद्ध र धार्मिक स्थलका रुपमा रहेको छ । पश्चिम नेपालको ४ पहाडी जिल्लाहरु बझाङ, बाजुरा, डोटी अछामको संगम स्थलका रुपमा पनि चिनिन्छ खप्तड राष्ट्रिय निकुञ्जलाई । फराकिला फाँट हेर्नकै लागि पनि आन्त्रिक र बाह्य पर्यटकहरु यस निकुञ्ज पुग्ने गर्छन् ।

समुन्द्री सतहबाट ३ हजार ५ सय मिटरसम्म उचाइमा रहेको खप्तड राष्ट्रिय निकुञ्जभित्र ५ सय ६७ थरिका वनस्पतीहरु र नेपालमा पाईने ८ सय ५० किसिमका चराचुरुंगीमध्ये साढे दुइ सयभन्दा बढि चराचुरुङ्गी पाईन्छन् ।

बाह्रै महिना पानीको सतह एकैनासको हुने विशेषता रहेको डेढ सय मिटर लम्बाई र ५० मिटर चौडाई रहेको खप्तडमा खप्तड दह रहेका छन् भने ५२ वटा ताल दह रहेका छन् । साथै यस निकुञ्जमा रमणीय नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह (ताल), खप्तड बाबाको आश्रम समेत रहेका छन् ।

खप्तड पुग्नका लागि काठमाडौंबाट धनगढीको बसमा यात्रा गर्नुपर्छ भने त्यहाँबाट डोटीको सिलगढीसम्म बसमै यात्रा गर्न सकिन्छ । त्यससँगै पैदल यात्रा गर्नुपर्नेछ । साथै निजी सवारी साधनमा पनि खप्तड पुग्न सकिन्छ ।

रारा

पछिल्लो समय पर्यटकको मन लोभ्याइरहेको छ राराले । सुमन्द्री सतहबाट २९ सय ९० मिटरको उचाईमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेको छ । रारा तालको लम्वाई ३ दशमलव २ किलोमिटर र गहिराई १ सय ६७ मिटर छ । यो ताल कुल १० दशमलव ८ किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

यस तालमा विश्वका अन्यत्र नपाइने ‘स्नो टाउट’ प्रजातिका माछा पाइन्छन् । घामको किरणसँगै राराले आफ्नो रंग बदल्ने गर्छ । प्रकृतिको उपहारका रुपमा सृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा, जस्ता जन्तुहरुको साथै डाँफे र अन्य चरा चुरुङ्गीहरुको समेत देख्न पाइन्छ ।

रारा पुग्नका लागि हवाई तथा स्लथमार्ग दुबैको प्रयोग गर्न सकिन्छ । स्थलमार्ग हुँदै निजी सवारी साधनमा जाने हो भने ताद नजिकैसम्म पुग्न सकिन्छ ।

सार्वजनिक सवारी साधनमा जाने हो भने काठमाडौंबाट ३२ घण्टामा जुम्ला सदरमुकाम खलंगा पुग्न सकिन्छ । खलंगाबाट सिन्जा उपत्यका हुँदै मुगु सदरमुकाम गमगढी जाने बस पाइन्छ भने त्यहाँबाट रारा पुग्न ५ घण्टा हिड्पर्नेछ । यसका साथै साना बसहरु रिजर्भ गरेर पुग्न सकिन्छ ।

मुस्ताङ

आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याउने स्थानमध्ये पर्छ मुस्ताङ । आन्तरिक पर्यटकहरु मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न पुग्नेगर्छन् । हिमालपारीका जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ ।

मुस्ताङमा अर्को रमणीय स्थल पनि रहेको छ त्यो हो मार्फा । जहाँ वरीपरी पहाडले घेरिएको छ भने बिचमा रहेको मार्फा गाउँ निकै सुन्दर रहेको छ । यहाँ पर्यटकका लागि चाहिने सुविधासम्पन्न होटल तथा रेष्टुरेन्ट पनि छन् अझ मार्फा स्याउ उत्पादनको क्षेत्रमा प्रख्यात छ ।

मुस्ताङकै अर्को रमणीय स्थान हो कागबेनी । जहाँ नेपाली फिल्म तथा गितहरुका लागि सुटिङ गर्ने क्षेत्र पनि हुन् यी । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल पनि हो कागबेनी ।

नेपाल आउने बाह्य पर्यटकको पहिलो रोजाईमा पर्ने अन्नपुर्ण पदमार्ग समेत कागबेनीमै पर्छ । कागवेनीमा ७ सय वर्ष पुरानो काग छोंदें थुप्तेन साम्फेल लिड गुम्बा अवस्थित छ । प्राकृतिक सुन्दरताका हिसाबले पनि यो क्षेत्र निकै अगाडी रहेको छ ।

मनाङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिर हिन्दू र बौद्धमार्गीहरुका लागि एक महत्वपूर्ण तीर्थस्थल हो ।

मुस्ताङका यी रमणीय स्थानमा पुग्नका लागि बस रिजर्भ गरेर जानुपर्छ । त्यससँगै मुस्ताङ पुग्नका लागि पोखराबाट जोमसोमसम्म हवाइमार्ग पनि जान सकिन्छ । त्यसपछि पैदलमार्ग हुँदै जान सकिन्छ ।

चितवन (सौराहा)

चितवन पर्यटकीय क्षेत्रका रुपमा चिनिन्छ । चितवनको सौराहा, मेघौली, सिराई चुली, उपरदाङगढी, लामो झरणा लगायतका रमणीय स्थलहरु अवलोकन गर्नका लागि चितवनमा पर्यटकको घुँइचो लाग्ने गर्छन् । काठमाडौंबाट मुग्लिन हुँदै १ सय ६५ किलोमिटर सडकको दुरीमा चितवन पुगिन्छ ।

दशैं विदामा चितवन घुम्न जानेहरुका लागि अर्को आकर्षक गन्तव्य सौराहा पनि हुन्छ सक्छ । चितवनको सौराहा क्षेत्र वनजंगलल भरिएको छ । नेपालको आर्कषक पर्यटकीय गन्तव्यका रुपमा रहेको सौराहा चिवतन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्दछ ।

हात्ती चढेर जंगल घुम्न पाउनु, राप्ती नदीमा डुंगा सयर गर्नु र सूर्यास्त हेर्नु सौराहाका आर्कषण हुन् । हात्ती चढ्नका लागि १२५० रुपैयाँ शुल्क लाग्नेछ । बस्नका लागि सुविधासम्पन्न होटलहरु रहेका छन् । साथै यस क्षेत्रमा थारु सँस्कृतिको नाच हेर्न पाइन्छ ।

पाथीभरा

पाथीभरा ताप्लेजुङ जिल्लामा पर्ने प्रसिद्ध तीर्थस्थल हो । समुन्द्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको ताप्लेजुङमा अवस्थित पाथीभरादेवी विश्वमै प्रख्यात रहेकी छिन् ।

पाथीभराबाट विश्वका विभिन्न हिमशृखलाहरु अवलोकन गर्न सकिन्छ ।

काठमाडौंबाट दुई दिनको बस यात्रामा पाथीभरा पुग्न सकिन्छ । साथै काठमाडौंबाट मोटरसाइकल तथा निजी सवारी साधननमा पनि पाथीभरा पुग्न सकिन्छ ।

कालिञ्चोक

कालिञ्चोक भगवती दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । काठमाडौंदेखि चरिकोट १ सय ३२ किलोमिटर पर्छ भने सदरमुकामबाट १५ किलोमिटर उत्तर कालिञ्चोक गासिमा अवस्थित यो मन्दिर समुन्द्री सतहबाट ३ हजार ८ सय ४२ मिटरको उचाईमा छ ।

कालिञ्चोक भगवती जानका लागि काठमाडौंबाट जाँदा बसपार्कबाट सदरमुकाम (चरिकोट) सम्म बसमा जान सकिन्छ । काभ्रे, सिन्धुपाल्चोकका रमणीय प्राकृतिक स्रोत अलोकन गर्दै खोला नाला, झरणाको दृश्यावलोकन गर्दै चरिकोट पुग्न सकिन्छ ।

चरिकोटसम्म जानका लागि सार्वजनिक यातायात पनि जान सकिन्छ भने त्यहाँबाट हिडेर वा जिपमा पनि जान सकिन्छ । त्यससँगै निजी सवारी साधनमा पनि कालिञ्चोक पुग्न सकिन्छ । कालिञ्चोकको प्रमुख विशेषता भनेको पानी पर्दा र मौसम चिसो हुनासाथ हिउँ पर्न शुरु हुन्छ ।
यहाँबाट रोल्वालिङ हिमश्रृङखला, जुगल, गौरीश्वर, गणेश लगायतका हिमालहरु देख्न सकिन्छ ।

साथमा शैलुङ डाँडाको दृश्यालोकन गर्न सकिन्छ । यहाँ घुम्न जानेहरुका लागि चौरीको मासु, कुखुरको भाले र फापरको ढिडो, गुन्द्रुक लगात विभिन्न परिकारका खाने कुराहरु पाइन्छन् ।

कालिञ्चोक घुम्न जानेहरु सदरमुकाम चरिकोटबाट आधा घण्टाको दुरीमा रहेको दोलखा भीमेश्वर मन्दिर समेत दर्शन गर्न जान सक्छन् । जहाँ दशैंका समयमा दर्शनार्थीको भीड समेत लाग्ने गर्छ ।

जिरी

दोलखामै अवस्थित जिरी अर्को आकर्षक गन्तव्यका रुपमा परिचित छ । जिरी दोलखाको स्वीजरल्याण्डका रुपमा परिचित छ । काठमाडौंबाट १ सय ८४ किलोमिटर दूरीमा रहेको जिरीको मनमोहक हरियाली र झरना तथा परम्परागत बस्ती पर्यटकका लागि विशेष आकर्षक हुन् ।

जिरी सगरमाथाको प्रवेशद्धार पनि हो । घुम्नलायक स्थानका रुपमा परचित जिरीमा बस्नका लागि उपयुक्त होटलहरुको पनि व्यवस्था छ ।
समुन्द्री सतहबाट १ हजार ९ सय ५ मिटरको उचाईमा रहेको छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने हो भने २ देखि ३ दिनको अवधिमा जिरी घुम्नका लागि पर्याप्त मानिन्छ । निजी सवारीमा जाँदा १ दिनमै पनि जिरी पुगेर फर्किन सकिन्छ तर आनन्दले घुम्न भने समय पुग्दैन । त्यसकरण दशैंको विदामा जिरी घुम्न उपयुक्त हुन सक्छ ।

जिरी आसपासमा चेर्दुङ र हनुमन्तेबाट रोल्वालिङ हिमालहरु, दोलखा र रामेछापका अधिंकाश गाउँ तथा बस्तीको अवलोकन गर्न सकिन्छ ।

जनकपुरधाम

एतिहासिक मन्दिर जनकपुरधाम विश्वभरका हिन्दूहरुको लागि चर्चित रहेको छ । आन्तरिक र बाह्य पर्यटकको भीड हुने स्थान पननि हो जनकपुरधाम । जनकपुरमा प्रसिद्ध जानकी मन्दिर, रामन्दिर, विवाह मण्डप, राजदेवी मन्दिर लगायतका क्षेत्रको अवलोकन गर्न सकिन्छ । साथमा धनुष धामको पुजा, त्यससँगै सिताको विवाह भएको क्षेत्र लगायतका ऐतिहासिक क्षेत्रको अवलोकन गर्न सकिन्छ ।

जनकपुरधामको अर्को विशेषता यहाँ रहेका पोखरी एवं कुण्डहरु हुन् । बिहार कुण्ड, अग्नि कुण्ड, मध्यमा सर, रत्न सागर, अंगराज सर, सूर्य कुण्ड,गंगा सागर, दशरथ तलाउ, पापमोचिनी सर, महाराज सागर, पाकवती सर, धौत—पाप सर आदि हुन् ।

लुम्बिनी

शान्तिका प्रतीक भगवान बुद्धको जन्मस्थल लुम्बिनी पनि बिदा मनाउनका लागि उत्कृष्ट गन्तव्यको रुपमा लिन सकिन्छ । काठमाडौंबाट ३ सय किलोमिटर दुरीमा रहेको लुम्बिनी ऐतिहासिक दृष्टिकोणले अत्यन्तै प्रसिद्ध मानिन्छ । संसारभरिका बौद्ध धर्मावलम्बीहरुको लागि आकर्षक गन्तव्यको रुपमा लिइन्छ ।

लुम्बिनीमा इसापूर्व तेस्रो शताब्दीदेखि सातौं शताब्दीसम्का भग्नावशेषहरु देख्न सकिन्छ । यहाँ मायादेवीको मन्दिर देख्न सकिन्छ ।
विदेशी पर्यटकको समेत मन लोभ्याउने लुम्विनीको क्षेत्रफल ठूलो रहेको छ । जहाँ घुम्नका लागि ऐतिहासिक तथा साँस्कृतिक सम्प्दाहरु देख्न सकिन्छ । यहाँ विभिन्न देशका विहारहरु समेत रहेका छन् । लुम्विनीमा बस्न र खानाका लागि सुविधासम्पन्न होटलहरु रहेका छन् ।

इलाम

दशैंको आकर्षक गन्तव्यअन्तर्गत इलाम पनि पर्छ । जुन चियाबारी नामकले विश्वभर प्रख्यात छ । इलाममा घुम्नलायक कन्याम, अन्तुडाँडा, छिन्टापु, पाथिभरा, इलाम बजार रहेका छन् ।

नेपालको पूर्वी क्षेत्र रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । इलाममा पिकनिक स्पोर्ट, होमस्टे तथा अवलोकन स्थानहरु प्रशस्तै छन् । राजधानीको कोटेश्वरबाट ६ सय ९० किलोमिटर यात्रा गरेपछि करिब १५ घण्टाको दूरीमा इलाम पुग्न सकिन्छ । निजी सवारीसाधनमा गएमा पनि इलाम सजिलै पुग्न सकिन्छ ।

ठूलो क्षेत्रमा फैलिएको चिया बगानमा घोडामा चढेर चियाका डाँडाहरु अवलोकन गर्न सकिन्छ । इलामको अग्लो डाँडो सन्दकपुर ३ हजार ६ सय ३६ मिटर उचाइमा छ । त्यस डाडाबाट कुम्भकर्ण, कञ्चनजंघलगायतका हिमालहरु देखिन्छन् । २ देखि ३ दिनसम्ममा इलामको प्रसिद्ध स्थानहरु घुम्न र होमस्टेमा रात बिताउन सकिन्छ ।

बन्दीपुर

दशैं विदा मनाउने आकर्षक गन्तव्यमा बन्दीपुर पनि पर्छ । कोलाहल, धुवाधुलोबाट केही टाढा जाने सोच बनाएकाहरुका लागि आन्नदित ठाउँ हो यो ।

तनहुँ सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्ने हुँदै ८ किलोमिटर उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम, हिमशश्रृखला, पहाड, टाकुरा हेर्न सकिन्छ ।

प्राकृतिक सौन्दर्यता बोकेको बन्दीपुरबाट अन्नपुर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमश्रृखंला देखिन्छ । काठमााडौंबाट मुग्लिन हुँदै डुम्नेसम्म बसमा यात्रा गर्न सकिन्छ भने त्यहाँबाट पैदलयात्रा पनि गर्न सकिन्छ भने त्यहाँबाट जीप पनि पाइन्छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरु, टुँडिखेल, थानीमाई, तिनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सुचना केन्द्र लगायतका स्थलहरु आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्छन् ।

घलेगाउँ

लमजुङ जिल्लामा अवस्थित घलेगाउँ पर्यटीय गन्तव्यका रुपमा विकास हुदै गएको छ । आत्मिय सत्कार, मनमोहक प्रकृति, मौलिक संस्कृति र स्थानीय परिकारको स्वाद एकै ठाउँमा पाइने भएकाले पनि यहाँ पर्यटकको चाप वर्षभरी नै उस्तै हुने गर्छ ।

घलेगाउँको प्रमुख विशेषता भनेको होमस्टे हो । शहरी क्षेत्रमा दशैं मनाउनेहरुका लागि महत्वपुर्ण गन्तव्य बन्न सक्छ घलेगाउँ । जहाँ ग्रामीण जीवनसँग रमाउनका सकिन्छ ।

गुरुङ जातीका मानिसहरु बसोवास गर्दै आएको घलेगाउँमा बारीमा कोदो र ढकमक्क फुलेका सयपत्री फुलसँग झुम्न पाइन्छ । गोर्खा आर्मी पार्क, घले राजाको शालिक, क्वोईवो धी, उत्तरकन्या मन्दिर, सात कुवा, परम्परागत गुरुङ संग्रहालय, चिया बगान, बनजंगल, छहारा, भीर, मौरी भेंडीगोठ घलेगाउँका आकर्षण हुन् । घलेगाउँ जानका लागि निजी सवारी साधनमा जादा राम्रो हुन्छ ।

स्वर्गद्वारी

प्युठान जिल्लामा रहेको स्वर्गद्वारी एक धार्मिक गन्तव्य हो । स्वर्गद्वारी नाम नै काफी छ जहाँ पुग्नेहरु स्वर्गको अनुभुति गर्ने गर्छन् ।
स्वर्गद्धारीबाट धौलागिरी, नीलगिरी, माछापुच्छ्रे, अन्नपुर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेन, पुथालगायतका हिमशृंखलाहरु देखिन्छन् ।
समुन्द्री सतहबाट २ हजार ४८ मिटरको उचाइमा रहेको छ स्वर्गद्धारी । स्वर्गद्धारीमा गुरुकुल विद्यलयहरु छन् । चर्चित धार्मि स्थल स्वर्गद्धारीमा खाना बस्नका लागि राम्रो सुविधा रहेको छ ।

राजधानीबाट ४ सय किलोमिटर दुरीमा रहेको छ स्वर्गद्धारी । काठमाडौंबाट रोल्पा जाने बस चढेर भिग्रीमा ओर्लनुपर्छ । त्यहाँ एक रात बिताएपछि अर्को दिन चार घण्टा पैदल यात्रा गरेपछि स्वर्गद्धारी पुग्न सकिन्छ ।

 
 
  
 

You may also like