आफ्नाबारे फेसबुकमा अश्लील पोस्ट गर्नेबारे रेणु दाहालले के भनिन् ?

by समतल अनलाइन

आफ्नो चरित्रमाथि गम्भीर प्रश्न उठाउँदै सामाजिक सञ्जाल फेसबुकमा अश्लील पोस्ट गर्नेबारे भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले संक्षिप्त प्रतिक्रिया दिएकी छन् ।

दाहालले आफ्नाबारेको आपत्तिजनक पोस्ट गृह मन्त्रालयबाट टेलिफोन आएपछि मात्र थाहा पाएको बताइन् । उनले सञ्चार माध्यमले त्यसबारे आफूसँग प्रतिक्रिया मागेको तर, दिन आवश्यक नभएको टिप्पणी गरिन् । ‘म दिनरात महानगरको काममा व्यस्त छु’, दाहालले काठमाण्डुटुडेसँग भनिन्, ‘त्यस्तो घटिया विषयमा कमेन्ट गर्ने फुर्सद छैन ।’

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता दाबी गर्ने ज्ञानबहादुर शाही नामका व्यक्ति भरतपुरमा कुटिएपछि त्यसमा नाम जोडेर शाही समर्थक समाचारमा उल्लेख गर्नै नमिल्ने असभ्य शब्द प्रयोग गर्दै सामाजिक सञ्जालमा रेणुविरुद्ध उत्रिएका थिए ।

भरतपुर महानगरपालिकाले आफ्ना मेयरविरुद्ध असभ्य अपशब्द प्रयोग गरी गालीगलौन गर्नेमाथि विद्युतीय अपराधअन्तर्गत कारबाही माग गर्दै आइतबार चितवन प्रहरीमा उजुरी दिएको छ । प्रहरीले आइतबारै चितवनका पशुपति श्रेष्ठलाई पक्राउ गरेको छ । अरुको पनि खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

 
 
  
 

You may also like