देशभरका अदालत १५ दिनसम्मका लागि बन्द

by समतल अनलाइन

काठमाडौं । दसैँको १५ दिनसम्मका लागि देशभरका अदालत बन्द भएका छन् । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालतका कामकारबाही बन्द हुने भएको हो । गत शुक्रबार सर्वोच्च अदालतले दसैँ, तिहार र छठलगायत पर्वको शुभकामना दिँदै चियापानको आयोजना गरेपछि अदालत नखुलेका हुन् ।

देशभरका ७७ वटा जिल्ला अदालत, सातवटा उच्च अदालत र तिनको ११ वटा इजलासका साथै सर्वोच्च अदालतसमेत बन्द हुनेछ । अर्धन्यायिक निकाय पनि पूर्णरूपमा बन्द हुनेछन् । आगामी २७ असोजबाट मात्रै अदालतले नियमित रूपमा कामकारबाही गर्नेछन् ।

‘देशभरका अन्य कार्यालय बन्द नहुनु र अदालत बन्द हुनु भनेको अहिलेको परिवर्तनलाई स्वीकार नगर्नु हो । नयाँ व्यवस्थाअनुसारको परिवर्तनलाई अदालतले आत्मसात् नगर्नुको ज्वलन्त उदाहरण नै अहिलेको बिदा हो,’ अधिवक्ता सतिशराज मैनालीले भने ।

बिदाका वेला सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणसँग सम्बन्धित मुद्दामाथि मात्रै सुनुवाइ हुनेछ । तीन दिनभन्दा बढी अदालत बन्द हुने अवस्था आएमा बन्दीको हकमा एकजना न्यायाधीश रहेको इजलास रहने कानुनी व्यवस्था छ । नयाँ पत्रिकामा खबर छ ।

 
 
  
 

You may also like