मेलम्ची बाढी : ६ विदेशसहित २० जना बेपत्ता, खोजी जारी


सिन्धुपाल्चोक,
सिन्धुपाल्चोकमा मंगलबार रातिको भारी वर्षापछिको बाढी पहिरोमा परी २० जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ले जनाएको छ । कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार ६ विदेशी नागरिकसहित २० जना हराइरहेका छन् । तिनमा तीन जना भारतीय र तीन जना चिनियाँ नागरिक छन् ।

विज्ञप्तिअनुसार बेपत्ता भएकाहरूमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, हेलम्बु–३ की ५० वर्षीया साइली तामाङ, ६ का ५० वर्षीया च्याङा तामाङ र ४२ वर्षीया काली तामाङ छन् ।

यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका–१ का १९ वर्षीय विमल खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेसमलाल साकी र हेमराज घिमिरे बेपत्ता छन् । यस्तै भारतीय नागरिक कमललोचन महतो, विजय वासुमन्तरी र जिनडाऔ वासुमन्तरी तथा चिनियाँ नागरिक सन यु चुवान, यु चि झु र गोड टियान छियो बेपत्ता छन् । बुधबार बिहान बाढीमा मृत भेटिएका चिनियाँ पुरुषको अझै सनाखत हुन सकेको छैन ।

बाढीपछि हेलम्बु र मेलम्चीमा बिजुलीको आपूर्ति ठप्प भएको छ । बत्ती नहुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ । एनसेल नम्बरमा फोन लागे पनि नेपाल टेलिकमको सेवा बन्द छ । सञ्चार सम्पर्क विच्छेद हुँदा बाढीबाट भएको क्षतिबारे पूर्ण जानकारी आउन नसकेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

मङ्गलवार साँझ हेलम्बु गाउँपालिका–१ मा रहेको मेलम्ची खानेपानीको मुख्य हेडबक्समाथि पहिरो गइ नदी थुनिएर बाढी सुरु भएको थियो । बाढीले सुरुमा हेलम्बुको तिम्बु बजार बगाउन सुरु गरेको थियो । त्यस्तै पाँचपोखरी गाउँपालिका–३ को भोताङको लार्केबाट पनि त्यहीबेला बाढीको बहाव सुरु भएको र दुवै खोला मेलम्चीमा मिसिएर ठूलो क्षति हुनपुगेको स्थानीय बासिन्दाले बताएका छन् । मेलम्ची र इन्द्रावतीबाट सुरु भएको बाढीले मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङ दुवै सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ ।

बाढीका कारण मेलम्ची बजार बगरमा परिणत गरेको छ । सडक, पुल, भवन, होटल, रिसोर्ट, खेत, फार्महरू सबै बगरमा परिणत भएका छन् । हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चालिसे, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजारका सयौँ घर बाढीले बगाएको छ । बाढी पहिरोका कारण सिन्धुपाल्चोक र मनाङमा सबैभन्दा धेरै असर परेको छ ।

 
 
  
 

You may also like