इन्द्रावती नदी किनारमा भेटियो दुई महिलासहितको सात शव, छ जनाको सनाखत

सिन्धुपाल्चोक । लगातारको वर्षापछि सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा गएको बाढी पहिरोले बगाएर बेपत्ता सातको शव इन्द्रावती नदीको किनारमा फेला परेका छन् । सात शवमध्ये ६ को सनाखत भएको स्थानीय प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय मेलम्चीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पाँच पुरुष र दुई महिला छन् ।

मृत्यु हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, वडा नं. ३ का ६५ वर्षीय टीकामाया खड्का, वडा नं. ७ का ४५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नं ६ का ३५ वर्षीय चेङा तामाङ, चौतारा साँगाचोकगढी नगरपालिका निवासी कर्मचारी २३ वर्षीय समुन्द्र नेपाल छन् । एक महिलाको पहिचान खुलेको छैन ।

मेलम्ची खोलाको मुहान क्षेत्रबाट आएको पहिरो मिश्रित बाढीले हेलम्बु र मेलम्चीमा ठूलो भौतिक क्षति पु¥याएको छ । प्रहरीका अनुसार मेलम्चीमा मात्रै पाँच सय मानिस विस्थापित भएका छन् ।

हेलम्बु क्षेत्रको क्षतिको विवरण अझै प्राप्त भएको छैन । उद्धारमा गएका सभामुख अग्निप्रसाद सापकोटा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ , राप्रपा अध्यक्ष पशुपति शम्शेर राणा र बागमती प्रदेशका पूर्वसामाजिक विकास मन्त्री युवराज दुलालसहित हेलम्बु र मेलम्चीका जनप्रतिनिधिले आपतकालीन बैठक बसेर उद्धारलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी परिचालनलाई व्यवस्थित बनाउनेबारे छलफल गरेका छन् । मेलम्ची क्षेत्रमा बाढी र पहिरोले गरेको मानवीय र भौतिक क्षतिको स्पष्ट विवरण आउन बाँकी छ ।

 
 
  
 

You may also like