सिन्धुपाल्चोक बाढी–पहिरो : सात जनाको मृत्यु, घाइते ६ जनालाई काठमाडौं ल्याइयो

सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिएका छन् । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्‍याएको छ । हेलम्बुमा तीन वटा र मेलम्चीमा एउटा गरी चार वटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताएका छन् । मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताए ।
तीन चिनियाँ घाइतेसहित ६ जनालाई काठमाडौं ल्याइयो
मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा घाइते भएका तीन जना चिनियाँ नागरिक र तीन जना नेपाली नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

 
 
  
 

You may also like