शहरी क्षेत्रका तार दशैँ अगावै नहटाए प्राधिकरण आफैँले हटाउने चेतावनी

by समतल अनलाइन

काठमाडौँ । शहरी क्षेत्रमा निजी इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाका तारले सौन्दर्य बिगारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले दशैँअगावै त्यस्ता अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने चेतावनी दिएको छ ।

गम्भीर दुर्घटनासमेत भएको तर तार राख्ने निकायले त्यसप्रति कुनै जिम्मेवारी नै नलिएको भन्दै प्राधिकरणले त्यस्ता तार तत्काल व्यवस्थित गर्न अन्यथा, त्यस्ता तार हटाइदिने बताएको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले अव्यवस्थित तारका कारण शहरी क्षेत्रमा दुर्घटना बढेको र आगलागीका घटनामा समेत वृद्धि भएकाले नियन्त्रणका लागि पहिलो चरणमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराई दशैँअगावै तार व्यवस्थित गर्न आग्रह गरिएको बताए ।

उनले पटकपटक इन्टरनेट सेवाप्रदायक, केवल टेलिभिजन अपरेटर, सङ्घसंस्थालाई आग्रह गर्दा पनि सुनुवाई नभएकाले कानूनी कारवाहीसहित तार व्यवस्थित गर्न आग्रह गरिएको जानकारी दिए। इन्टरनेट तथा केवल सेवाप्रदायकले अनधिकृतरूपमा शहरी क्षेत्रमा तार टाँगेर सौन्दर्य बिगारेका छन् ।

इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाले टेलिफोन तथा बिजुलीको खम्बामा अव्यवस्थितरूपले शहरको सुन्दरतामा नै असर पारेका छन् । काठमाण्डु उपत्यकाका चोकचोकमा तारका कारण समस्या परेको छ । आगलागी हुँदा वरपरका घर तथा आवासमा समेत त्यसले प्रभाव पार्ने गरेको छ ।

 
 
  
 

You may also like