देश राजनीतिक नेतृत्वको कब्जा बाहिर जाँदैछ : हृदयेश त्रिपाठी

परासी। पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले देश राजनीतिक नेतृत्वको कब्जा बाहिर जान लागेको बताएका छन् ।

स्वास्थ्यमन्त्रीबाट पदमुक्त भएपछि आज (आइतबार) गृह जिल्ला नवलपरासी आएका पूर्वमन्त्री त्रिपाठीले दलहरुबीच देखिएको विभाजन र शत्रुतापूर्ण व्यवहारले संविधान समाप्त हुने अवस्थामा जानु देशकै लागि खतरा भएको बताए । ‘संविधानको व्याख्या गर्ने अदालत नै हो । तर राजनीतिक घटनाक्रमलाई लिएर अदालतमा पुग्नु भनेको राजनीतिक दल र नेतृत्वको असफलता हो’ उनले भने ।

संसद् पुनर्स्थापना र मन्त्रीमण्डल पुनर्गठनलगायत समसामायिक राजनीतिक विषय नै अदालतको हातामा पुग्नुलाई शुभ संकेत मान्न नसकिने उनले बताएका छन् । वर्तमान राजनीतिक अवस्थालाई त्रिपाठीले ब्लेडको संज्ञा दिएका छन् । ‘अहिलेको राजनीति ब्लेड जस्तो छ । जाने बाल (कपाल) काट्छ । नजाने गाल (गाला) काट्छ । त्यसैले दलहरु सचेत भएर अगाडि नबढे संविधान समाप्त हुन्छ’ उनले भने ।

अहिले संविधान घाइते भइसकेकाले संसद्ले मात्र त्यसलाई मलमपट्टी लगाउन सक्ने पनि उनले बताएका छन् । ‘संसद् दुई प्रकारले फर्किन्छ । एउटा चुनाव र अर्को विघटित प्रतिनिधिसभा पुनर्स्थापना । विचाराधीन त्यस विषयलाई अहिले गम्भीरताका साथ जनताले हेरिरहेका छन’ उनले भने ।

त्रिपाठीले घुमाउरो पारामा संविधानको रक्षाका लागि अहिले संसद् पुनर्स्थापना हुनुपर्ने संकेत गरेका छन् । आफ्नो नयाँ दलबारे नेता त्रिपाठीले भने, ‘यसका लागि पूर्व राजदूत, पूर्व सचिव र अर्थशास्त्रीहरुले मस्यौदा तयार गरिरहेका छन् । २-३ महिनाभित्र मस्यौदा तयार हुन्छ र त्यसपछि पूर्व, पश्चिम र काठमाडौँमा भेला गरेर दल घोषणा गर्नेछौं ।’

 
 
  
 

You may also like