बुटवल । सरकारद्वारा जारी निषेधाज्ञाका कारण जनजीवन कष्टकर बन्दै गइरहेको छ ।
विशेष गरि निम्न आए भएका र दैनिक श्रम गरेर गर्जो टार्ने वर्गका मानिसहरुमा यसले नराम्रोसंग प्रभाव परेको छ । यहि अवस्थालाई मध्यनजर गरेर राष्ट्रिय जनमुक्ति पार्टीले तीन हप्तादेखि रुपन्देहीका विभिन्न ठाउँमा राहतको रुपमा दैनिक उपभोग्य वस्तु, खाद्यान्न तथा खाना वितरण गर्दै आइरहेको छ ।
यसैक्रममा राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगर समितिले आइतबार बुटवलमा पचास परिवारलाई राहात वितरण गरेको छ । प्रत्येक परिवारलाई १५ किलो चामल, पाँच किलो गहुँको पिठो, तेल, नुन, मस्यौरा लगायतका खाद्यान्न सामग्री वितरण गरेको पार्टीका बुटवल उपमहानगर अध्यक्ष थर्क बहादुर बारघरेले जानकारी दिए । सोअवसरमा बोल्दै पार्टीका केन्द्रिय सदस्य एवंं पूर्व सैनिक संगठनका केन्द्रिय अध्यक्ष भीम बहादुर रानाले महामारी नियन्त्रणमा सरकार चुकेको बताउँदै जनताप्रति सरकार उत्तरदायी बन्न नसकेको बताए । निषेधाज्ञाले आम नागरिकमा नैरास्यता र भोकमरी बढाएको उनको भनाई छ ।
जनताको जीवन रक्षा र एक गाँसको व्यवस्था समेत गरिदिन नसक्नेहरु सरकारमा बस्न नसुहाउने उनको धारणा थियो । दलहरु जनताको जीवन रक्षालाई बेवास्ता गर्दै सत्ता लिप्सामा मात्र केन्द्रित भइरहेको कुरालाई संकेत गर्दै उनले यसको हिसाब किताब जनताले गर्नु पर्ने समय आएको बताए ।
राहत वितरणमा पार्टीका नेताहरु धनी आले, बसन्ती साठिघरे, लुम बहादुर सारु, नन कुमार सारु, प्रेम थापा, खिमा थापा लगायत सहभागी रहेका थिए ।