महाधिवेशनबारे निर्णय लिन आज कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक आज (शनिबार) बुढानीलकण्ठमा बस्दैछ । दिउँसो २ बजेको लागि बोलाइएको बैठकमा आसन्न १४ औं महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।

संवैधानिक व्यवस्था अनुसार आगामी भदौसम्ममा पार्टीको १४औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने अवस्था भए पनि कोरोना महामारीका कारण कार्यतालिका प्रभावित हुने भएपछि सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।
पूर्व निर्धारित कार्यतालिकाअनुसार असारमा वडा तहको अधिवेशन शुरु गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो समेत नलागिसकेको अवस्थामा कार्यतालिका अनुसार महाधिवेशन गर्न कठिन देखिएको छ ।

हालसम्म झण्डै ८ लाख क्रियाशील सदस्यको विवरण डेटा सिस्टममा इन्ट्री भएको छ, तर त्यसलाई प्रकाशित गरेर उजुरी समेत आह्वान गर्न बाँकी छ । महाधिवेशनसँगै समसामयिक राजनीतिक घटनाक्रमको समेत समीक्षा हुने बताइएको छ ।

 

 
 
  
 

You may also like