युरोकप आजदेखि : अपराजित इटालीलाई युवा टर्कीको चुनौती

काठमाडौं। फिफा विश्वकप फुटबलपछिको सबैभन्दा चर्चित प्रतियोगिता युरोपियन च्याम्पियनसिप अर्थात् युरोकप २०२० आज (शुक्रबार) राति देखि शुरु हुँदैछ ।

कोरोना भाइरस संक्रमणका कारण यो खेल एक वर्षपछि खेलाउन थालिएको हो । युरोकपको १६औँ संस्करण एक महिनासम्म चल्ने छ । युरोपका २४ देश ११ जून अर्थात् २८ जेठदेखि ११ जुलाई अर्थात् २७ असारसम्म युरो २०२० को उपाधिका लागि भिड्नेछन् । युरोकपको ६० वर्षको अवसर पारेर यस पटक युरोपका विभिन्न ११ देशमा खेल आयोजना हुँदैछ ।

यस पटक युरोकपका खेल इटालीको रोमबाट सुरु भएर बेलायतको लण्डनमा समापन गरिने तालिका सार्वजनिक भएको छ । उद्घाटन खेल नेपाली समयअनुसार शुक्रबार राति १२ः४५ बजे टर्की र इटालीबीच रोममा हुनेछ भने सेमिफाइनल र फाइनल खेल लण्डनमा हुनेछ ।

समूह चरणदेखि क्वार्टरफाइनलसम्मका खेलहरू यी दुवै शहरसहित नेदरल्याण्ड्सको आमस्टर्डम, अजरबैजानको बाकु, स्पेनको सेभिया, रोमानियाको बुकारेस्ट, हंगेरीको बुडापेस्ट, डेनमार्कको कोपनहेगन, स्कटल्याण्डको ग्लास्गो, जर्मनीको म्युनिख र रसियाको सेन्ट पिटर्सवर्गमा खेलाइने छ ।

यस पटक युरोकपमा समूह चरणमा ३६ र नकआउटमा १५ गरी कुल ५१ खेल हुनेछन् । युरोकपमा सहभागी टिमलाई ६ समूहमा विभाजन गरिएको छ । समूह विजेता र समूह उपविजेतासँगै तेस्रो हुनेमध्येको उत्कृष्ट चार टोलीले प्रि–क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

समूह ’ए’मा टकी, इटाली, वेल्स र स्वीट्जरल्यान्ड रहेका छन् भने समूह ’बी’मा डेनमार्क, पिनल्यान्ड, बेल्जियम , रसिया रहेका छन् । त्यसैगरी, समूह ’सी’मा नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ मेसेडोनिया रहेका छन् भने समूह ’डी’मा इङ्ल्यान्ड, क्रोएसिया, स्कटल्यान्ड, चेक रिपब्लिक रहेका छन् । समूह ’ई’ स्पेन, स्वीडेन, पोल्यान्ड, स्लोभाकिया रहँदा समूह ’एफ’ हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी रहेक छन् ।

समूह चरणका सबै खेलहरू सेन्टिल युरोपयन टाइम (सीईटी) अनुसार सुरु हुनेछ । नेपालमा ३ घण्टा ४५ मिनेटअघि खेल सुरु हुनेछ । नेपाली समयअनुसार ६ः४५, ९ः४५ र १२ः४५ बजे खेल सुरु हुनेछन् । २३ जुन अर्थान् ९ असारसम्म समूह चरणका खेल हुनेछन् । त्यसपछि दुई दिनको रेस्ट डेपछि २६ जून अर्थात् १२ असारबाट प्रि–क्वार्टर फाइनलका खेल सञ्चालन हुने युरोकप २०२० को तालिका छ । प्रिक्वार्टर फाइनलका खेलहरू ३ जुलाई अर्थात् १९ असारसम्म चल्ने छन् ।

त्यसपछि दुई दिनको रेस्ट डेपछि सेमिफाइनलका खेलहरू ६ जुलाई अर्थात् २२ असार र ७ जुलाई २३ असारमा सेमिफाइनलका खेल हुनेछन् । त्यसपछि तीन दिनको रेस्ट डेपछि ११ जुलाइ अर्थात् २७ असारमा लन्डनमा राति १२ः४५ बजे फाइनल खेल हुनेछ ।

युरोकपको शुरुवाती खेल रोममा हुँदैछ र २७ खेलसम्म अपराजित रहेको घरेलु टोली इटलीले टर्कीको सामना गर्दैछ । प्रशिक्षक सेनोल गुनेसको नेतृत्वमा रहेको टर्किस् टोली यसपटक युवा खेलाडीहरूले भरिएको छ । प्रशिक्षक गुनेसले आफ्नो टोली अंक खोस्ने आशा बोकेर रोम नआएको स्पष्ट पारिसकेका छन्, उनले इटलीविरुद्ध स्टाइलिस फुटबल खेल्ने बताए । टर्की पछिल्ला ५ खेलमा अपराजित छ । उसले तीन खेल जितेको छ भने २ खेल बराबरी गरेको छ । त्यसकारण पनि उसले इटलीलाई कडा टक्कर दिनसक्छ ।

यता, इटलीले पछिल्लो ५ खेलमध्ये पाँचवटै खेल जितेको छ । त्यस्तै, हेड टु हेडमा पनि इटली नै अघि छ । टर्कीविरुद्ध उसले अहिलेसम्म खेलेका सबै ३ खेल जितेको छ ।

इटलीले २०१८ यता कुनै पनि खेल हारेको छैन र २०२१ मा एक गोल पनि खाएको छैन । पछिल्लो समय चेक गणतन्त्रविरुद्ध इटलीले निकै उत्कृष्ट खेल देखाएको थियो, युरोअघिको यस वार्मअप खेलमा उसले ४–० को जित निकाल्यो । यस खेलमा इटलीका तीनवटै स्ट्राइकर लोरेन्जो इन्जाघी, सिरो बेरार्डी र सिरो इम्मोबिल सबै फर्ममा देखिएका थिए ।

सन् १९६८ को युरोकप विजेता इटली सन् २००० र २०१२ मा पनि प्रतियोगिताको फाइनलमा पुगेको थियो । टर्कीले आजको खेलसँगै आफ्नो चौथो युरो यात्रा थालनी गर्नेछ । यसअघिका तीन संस्करणमध्ये उसले सन् २००८ मा सेमिफाइनल यात्रा गरेको थियो । एजेन्सी

 
 
  
 

You may also like