‘सबैतिर पार्टी छ, तर कहीं पनि छैन’ जस्तो अवस्थालाई महासचिव भएर बदल्नु छ : ईश्वर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव तथा निवर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरलले आफूले पार्टीको महासचिव भएर पुनः भूमिका खेल्नुपर्ने आवश्यकता महसुस गरेको बताएका छन् । करिब साढे तीन वर्ष सरकारमा रहेका पोखरेल हालै मन्त्रिपरिषद् पुनर्गठन हुँदा बाहिरिएका हुन् ।

अब फेरि पार्टीको महासचिव भएर पुनः भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको बताउँदै यस विषयमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीसित कुराहरू भइरहेको बताएका हुन् ।

‘साथीहरू सबैलाई थाहा छ, म नेकपा (एमाले)को महाधिवेशनबाट निर्वाचित महासचिव । तर, महान् र ऐतिहासिक भनिएको एमाले–माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको जिम्मेवारीमा् रहिन ! तर, २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले–माओवादी पार्टीहरूको पूर्वस्थिति कायम रहन पुगेका कारण म पुनः एमालेको महासचिव रहनपुगेको छु । यो अवस्थामा मैले बुझेको छु्– म पार्टीको महासचिव भएर पुनः भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ । पार्टीका आदरणीय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसित यस सम्बन्धमा कुराहरू भएका छन् । उहाँले मलाई परिस्थितिको गम्भीरताबारे बताउँदै आउनुभएको पनि छ र मैले उहाँको अन्तरआशयलाई राम्ररी बुझ्ने प्रयत्न पनि गर्दै आएको छु’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।

उनले सबैतिर पार्टी भए पनि कहीं पनि नभए जस्तो अवस्था रहेको उल्लेख गरेका छन् । यस्तो बेलामा सिंगो राष्ट्रले–आम नेपाली जनताले एमालेप्रति सुदृढ र जनआधारित नेकपा (एमाले) प्रति आशा गरेको दाबी पनि उनले गरेका छन् ।

‘अहिले कतिपयले भन्ने गरेजस्तो ’सबैतिर छ पार्टी, तर कहीँ पनि छैन पार्टी’जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती छ । र, यो बदल्ने अभियान सञ्चालन गर्ने संस्थाको महासचिव भएर मैले भूमिका खेल्नुपर्नेछ । दुर्भाग्य नै हो, यति बेला पार्टीभित्रको एकतामा पनि संकट देखापरेको छ । यसबाट पार्टीलाई जोगाउनुपर्ने आवश्यकता छ । चुनौतीहरू थुप्रै किसिमका छन् । राष्ट्रिय राजनीतिमा अस्थिरताका झन्झावातका आशंकाले मानिसहरूमा त्रास सिर्जना गराउन खोजिँदै छ । आर्थिक विकास र समृद्धिको अभियानलाई कमजोर पार्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई कमजोर बनाउने, मुलुकलाई अराकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्भावलाई विथोल्ने आदि दुस्प्रयत्नहरू हुँदै छन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्र–बाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ’, पोखरेलको भनाइ छ ।

 

 
 
  
 

You may also like