५० मुरी धान फलाउने किसानलाई ४२ हजार ५०० रुपैयाँ

ताप्लेजुङ। कृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन गर्नुपर्छ भन्ने उदाहरण ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले प्रस्तुत गरेको छ ।

गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने सात किसानलाई प्रोत्साहन रकम बापत ४२ हजार ५०० रुपैयाँ उपलब्ध गराउने निर्णय गर्दै उनीहरुलाई कृषि कर्ममा थप हौसला भरेको हो ।

गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन र किसानलाई थप प्रोत्साहन गर्न यो नवीनतम योजनालाई कार्यान्वयन गरिएको जनाइएको छ । पहिलो चरणमा वडा नम्बर १, २ र ३ का सात किसानलाई यस रकम प्रदान गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

प्रोत्साहन पाउनेमा वडा नम्बर १ का देवीमाया श्रेष्ठ, ज्ञानबहादुर लिम्बु, ङिमादावा शेर्पा, निमतेम्बा शेपा, वडा नं २ का रविन्द्र वनेम र वडा नं ३ का ङिमावाङ्दी शेर्पा र होमनाथ गौतम रहेका गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङ्वाङले जानकारी दिए ।

उनका अनुसार देवीमाया र ङिमादावाले ७०–७०, ज्ञानबहादुरले ६३, ङिमातेम्बाले ६५, रविन्द्रले ९५, ङीमावाङ्दीले ५८ र होमनाथले ६० मुरी धान उत्पादन गरेको तथ्याङ्क छ । उनीहरुलाई रकम चाँडै उपलब्ध गराइने प्रवक्ता चोङ्वाङले बताए ।

 
 
  
 

You may also like