प्रधानमन्त्रीले सक्ने जति गर्छु भन्नु भएको छ : महन्थ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको माग सम्बोधन गर्न सक्ने जति गर्छु भनेर विश्वास दिलाएको बताएका छन् । पार्टीको तर्फबाट मन्त्री बनेका नेताहरू बधाई दिंदै उनले प्रधानमन्त्री ओलीले आफ्ना मागहरु पूरा गर्न थालेपछि सरकारमा गएको स्पष्ट पारेका छन् ।

‘उहाँले शुरुदेखि नै सरकारमा आउन भनिरनु भएको थियो । हाम्रो माग र मुद्दाको प्रक्रिया अघि बढेपछि सरकारमा जाने भन्यौं । जब उहाँले काम गर्न शुरु गर्नुभयो, हामीलाई विश्वास पनि लागेको छ । उहाँले म सक्ने जति गर्छु भन्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ’, उनले भने ।

जेलमा रहेका नेता–कार्यकर्ताले कानुनानुसार उन्मुक्ति पाउने पनि उनले विश्वास व्यक्त गरे । जसपा वरिष्ठ नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले पार्टीमा अहिले विभाजित मनस्थिति देखिए पनि अधिकांश नेता कार्यकर्ता आफूहरुतिर रहेको दाबी गरे । उनले अघि भने, ‘जसपा हाम्रो हो, हाम्रो रहन्छ । समय आएपछि निर्वाचन आयोगमा पनि आफ्नो मान्यता स्थापित गर्छौं ।’

 

 
 
  
 

You may also like