बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी जोगाउन अग्रगामी शक्तिहरुबीच एकता आवश्यक : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक जागरण अभियान र कठोर कानुनी उपचारले मात्र छुवाछुत जस्ता सामाजिक अपराध निर्मूल गर्न सकिने बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आज (शुक्रबार) उनले जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुबीच एकताबद्ध पहलकदमीको आवश्यकता औंल्याएका छन् ।

‘सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी अहिले गुम्दै जाने खतरा पैदा भएको छ । सामन्तवादका उपज सामाजिक कलंकका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुका बीच एकताबद्ध पहलकदमीको आवश्यकता छ । सामाजिक जागरण अभियान र कठोर कानुनी उपचारले मात्र यस्ता सामाजिक अपराधलाई निर्मूल गर्न सकिन्छ’, विज्ञप्तिमा भनिएको छ । उनले मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको विषय भएको पनि बताएका छन् ।

संविधान र कानुनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि दलित समुदायमाथि हुने हिंसा न्यूनीकरण हुने र उत्पीडित समुदायहरुले न्यायको अनुभूति गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । । उनले स्थानीय तहसम्म निगरानी संयन्त्र बनाई जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्ने कार्यमा जुट्न सबैमा अपिल पनि गरेका छन् ।

 
 
  
 

You may also like