एकताको प्रयासमा भ्रम फैलाइयो, पार्टीको सम्पूर्ण एकता हाम्रो विश्वास र अडान हो : गोकर्ण विष्ट

काठमाडौं। नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले पार्टीको एकता जोगाउन प्रयासरत आफूविरुद्ध दुष्प्रचार उल्लेख गर्दै गुनासो गरेका छन्। एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न झुठा प्रचार गरिएको उनको भनाई छ ।

सचिव विष्टले सामाजिक सञ्जाल फेसबुकमा विहिबार लेखेका छन्, ‘नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन् । एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउला ।’

सचिव विष्टले एमाले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने आफ्नो अडान यथावत् रहेको पनि उल्लेख गरेका छन्। लेखेका छन्, ‘पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो । हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।’

प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहले वरिष्ठ नेता माधव नेपाल बाहेकको एकताको प्रयास गरीरहेको हल्ला फैलिएपछि वरिष्ठ नेता नेपाल निकट कार्यकर्ताहरुले आक्रोश पोखेका थिए । यही तर्फ संकेत गर्दैै सचिव विष्टले लेखेका छन्, ‘पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।’

 
 
  
 

You may also like