ढुङ्गा-बालुवा निकासी गर्ने कार्यक्रम नीतिगत भ्रष्ट्राचार हो, प्रतिरोध गरौँ- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सकारले बजेटमा नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर नीतिगत भ्रष्ट्राचार गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता थापाले संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ‘नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र सोच उजागर गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ प्रस्ट भएको छ । यो ‘नीतिगत भ्रष्टाचार हो’ । आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन:छर्लङ्ग भएको छ ।’

उनले चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरुभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको स्मरण गर्दै यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्ने बताएका छन् ।

नेता थापाले अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई प्रतिरोध गर्न आम जनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आव्हान गरेका छन् ।

 

 
 
  
 

You may also like