लुम्बिनीको बजेट अधिवेशन आजबाट, मुख्यमन्त्री पोखरेललाई अविश्वासको प्रस्तावको त्रास

बुटवल। लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन (आठौं अधिवेशन) आज (बुधबार) बाट शुरु हुँदैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

यस वर्ष कोरोना नियन्त्रण तथा कोरोनाले पारेको आर्थिक मन्दीलाई चलायमान बनाउन बजेटले प्राथामिकता दिने लुम्बिनीको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । गएको वर्ष ३६ अर्ब ३५ करोडको बजेट ल्याएको लुम्बिनी प्रदेश सरकारले यो वर्ष पनि त्यही हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।

आजको बैठकमा विपक्षी दलहरुले भने मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गर्ने तयारी गरेका छन् । कोरोना महामारी नियन्त्रणदेखि मुख्यमन्त्रीको राजीनामासम्मको कुरा बैठकमा हुने विपक्षी नेताहरुले बताएका छन् । मुख्यमन्त्री पोखरेलले जालझेल गर्दा पनि बहुमतको अवस्थामा रहन नसकेको ठहर विपक्षी गठबन्धनको छ ।

प्रदेशसभामा विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलविरूद्व यसअघि नै अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । आजै सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने आशंका एमालेले गरेको छ ।

गएको बैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरेकोमा मुख्यमन्त्री पोखरेलले बैशाख १९ गते बोलाइएको संसद बैठक बस्न नपाउदै अर्कै बाटोबाट मुख्यमन्त्री नियुक्त भएपछि विपक्षी गठबन्धनमा तीव्र असन्तुष्ट रहदै आएको छ । दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएकोमा त्यसलाई पनि संसदमा प्रवेश गराइएको छैन । एमाले अल्पमतमा परेको अवस्थामा जनता समाजवादी पार्टीका सांसदहरूलाई मन्त्री नियुक्त गरेर आफ्नो पक्षमा ल्याउँदा समेत मुख्यमन्त्री अल्पमतमा छन् ।

लुम्बिनी प्रदेश सभामा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), अल्पकालिन आदेशबाट सांसद् पद पाएका ४ जनासहित जसपाका ६ र राष्ट्रिय जनमोर्चामा एक सांसद छन् ।

 
 
  
 

You may also like