‘सेरेमोनियल’ राष्ट्रपतिपलाई भीख माग्न लगाउने, खै लाजशरम : डा. बाबुराम भट्टराई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशी समकक्षीसँग कोभिड खोप सहयोग मागेकोप्रति पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाज पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि आपत्ति जनाएका छन् ।

कोरोनाविरुद्ध खोप छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै डा. भट्टराईले सरकार खुराफातमा मस्त भएको आरोप लगाएका छन् । तर आलंकारिक (सेरोमोनियल) राष्ट्रपतिलाई चाहिँ खोप भीम माग्न लगाएर लाजमर्दाे काम सरकारले गरेको उनले टिप्पणी गरेका छन् ।

‘कोरोनाविरूद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो । हामी जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुइराको काग जस्तो,’ डा. भट्टराई सोमबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रा पलाई चाहिँ भीख माग्न लगाउने ? खै लाजशरम !’

यसअघि नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोपका लागि पत्राचार गरेको विषयमा प्रश्न उठाएका थिए ।

रावलले एक ट्वीट गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुखझैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको टिप्पणी गरेका छन् । ‘यसले के प्रधानमन्त्री र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ’, उनले भनेका छन् ।

 
 
  
 

You may also like