महेश बस्नेतले भने, ‘हामी पनि कांग्रेस र माओवादीलाई फुटाई दिन सक्छौं’

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुले पनि चाहेमा नेपाली कांग्रेस र नेकपा माओवादीलाई फुटाई दिन सक्ने बताएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका बस्नेतले कांग्रेसका २३ सांसद पार्टी विभाजनको पक्षमा रहेको दाबी गरे । माओवादी केन्द्रका पनि २५–२६ सांसद प्रचण्डबाट पार लाग्दैन भन्ने तहमा पुगेको उनले बताएका छन् ।

सोमबार एमालेसम्वद्ध युवा संघ नेपालको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘उहाँहरुको जस्तो हर्कत गर्ने हो भने हामी दुवै दललाई विभाजन गर्न सक्ने हैसियतमा छौं । यद्यपि यस्ता गतिविधि गर्दा अपहरण जस्ता आरोप लगाउँछन् ।’

बस्नेतले कांग्रेसलाई बहुदलीय व्यवस्था र लोकतान्त्रिक मूल्य, मान्यता र पद्दति छोडेको हो ? भन्दै प्रश्न गरेका छन् । ‘म कांग्रेसका नेता र बुद्धिजीवीहरुलाई प्रश्न गर्न चाहन्छु । के काँग्रेसले बहुदलीय व्यस्था र लोकतान्त्रिक मूल्य मान्यता र पद्दति छोडेको हो ? नेकपा एमालेका २६ र जसपाका १२ सांसदहरुको हस्ताक्षर बोकेर राष्ट्पतिको कार्यालय र सर्वोच्चमा गइरहँदा म शेरबहादुर देउवाजीलाई प्रश्न गर्न चाहन्छु’, बस्नेतको प्रश्न थियो । उनले बहुदलीय व्यवस्थाका निम्ति ७१ बर्षदेखि लडेको यहि दिन हेर्न हो भन्दै तपाईहरु अव निर्दलीय व्यवस्थामा प्रवेश गर्नु भएको हो भन्दै प्रश्न गरे ।

उनले अव एमाले र जनता समाजवादी पार्टीका सांसदहरुसँग दुईवटा विकल्प रहेको भन्दै कि ४० प्रतिशत संख्या पु¥याएर दल विभाजन गर्ने मनसायका साथ देउवालाई प्रधानमन्त्री बनाउने हिम्मत राख्नु पर्ने कि एमाले र जनता समाजवादी पार्टीका सांसदसँगको कांग्रेसले आफ्ना आवद्दता तोड्नुपर्ने बताए ।

विगतमा केपी शर्मा ओलीलाई गाली गर्ने माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, जनार्दन शर्माहरु एमालेसँग पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा रहेको पनि बस्नेतले दावी गरेका छन् । तर आफूहरुले प्रचण्ड–बाबुरामहरु भन्दा त्यहाँ भएका क्रान्तिकारीहरुलाई एमालेमा ल्याउने बस्नेतले बताए । सम्बोधनका क्रममा उनले अब फेरि पाँच वर्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

 

 
 
  
 

You may also like