लुम्बिनी उपनिर्वाचन : २९७ मत खस्यो

बुटवल। लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदका लागि भएको मतदान सकिएको छ । दाङको घोराही उप–महानगरापालिकास्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान भएको थियो ।

उपनिर्वाचनमा प्रदेशसभाका ८३ र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिका प्रमुख–उपप्रमुख २१७ जना गरी ३०० मतदाता थिए । जसमध्ये २९७ जनाले मात्रै मतदान गरेका छन् ।

मतदानमा प्रदेशसभाका ८३ र स्थानीय तहका गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिका प्रमुख–उपप्रमुखले २१४ जनाले मतदान गरे । जसमा कोरोना संक्रमित २७ मतदाता थिए । मतदानमा स्थानीय तहका तीन मतदाता अनुपस्थित भएका छन् । जसमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी भएनन् । उनले सार्वजनिक रूपमै निर्वाचन बहिष्कार गरेका थिए ।

यो समय कोरोना महामारी नियन्त्रणको बेला भएकाले चुनाव अनुपयुक्त भएकाले आफू मतदान प्रक्रियामा सहभागी नभएको उनको भनाइ छ । यस्तै नरैनापुर गाउँपालिका बाँकेका अध्यक्ष मोहम्मद इस्तियाक साह बिरामी भएर उपचार गर्न लखनउ गएका छन् । उनी पनि सहभागी भएनन् ।

यस्तै गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा पनि बिरामी छन् । उनी काठमाडौंमा उपचार गरिरहेका छन् । उपनिर्वाचनमा एमालेका तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उमेदवार छन् । अब केहीबेरमा मत मेटिकाको मुचुल्का उठाएर मतगणना शुरू हुने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । मतपरिणाम आजै भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी छ ।
२७ संक्रमित जनप्रतिनिधिले पनि गरे मतदान
लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार भएको उपनिर्वाचनमा कोरोना संक्रमित २७ जनप्रतिनिधिले मतदान गरेका छन् । मतदानमा कोरोना संक्रमितका लागि छुट्टै मतदान केन्द्र तय गरिएको थियो । जसमा प्रदेशका ३ र स्थानीय तर्फका २४ जनप्रतिनिधिले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । ।

 
 
  
 

You may also like