चिनियाँ खोप लिन आज नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै

काठमाडौ। चीनले नेपाललाई अनुदानमा दिने कोरोना भाइरसविरुद्धको खोप लिन आज (सोमबार) नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदैछ ।

चीनले दिने १० लाख डोज खोपमध्ये आठ लाख खोप लिन निगमको वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ जान लागेको नेपाल एयरलाइन्सले जानकारी दिएको छ । जहाज भोलि दिउँसो नेपाल आइपुग्ने तालिका रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको बुधवार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवाद गरेर नेपाललाई खोप दिएर सहयोग गर्न अनुरोध गरेकी थिइन् ।

राष्ट्रपतिको आग्रहलाई स्वीकार्दै चिनियाँ राष्ट्रपति सीले तत्कालै १० लाख डोज खोप अनुदानमा दिने र नेपालले खरिद गर्ने खोपका लागि पनि सहजीकरण गर्ने बचन दिएका थिए ।

नेपालले चीनमा उत्पादित भेरोसेल खोपलाई प्रयोगको अनुमति दिएको छ । यसअघि चीनले दिएको आठ लाख डोज खोप प्रयोगमा आइसकेको छ । सरकारले अनुदान बाहेक भेरोसेल खोप खरिदका लागि पनि कूटनीतिक पहल गरिरहेको छ ।

 

 
 
  
 

You may also like