म्याग्दीमा ९६ वर्षीया वृद्धाले जितिन् कोरोना

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामकी ९६ वर्षीया वृद्धाले कोरोना भाइरसको सङ्क्रमणलाई जित्न सफल भएकी छिन् । दग्नामको कान्छी गाउँ घर भएकी वद्धाले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरी कोरोनाबाट निको भएकी हुन् । सात दिनअघि कोरोना सङ्क्रमणको कारण श्वासप्रश्वास, ज्वरोलगायतका समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

एक हप्ताको उपचारपछि उहाँको स्वास्थ्यमा सुधार आएको र कोरोना सङ्क्रमणमुक्त भएपछि उनलाई घर पठाइएको गाउँपालिकाको कोभिड–१९ अस्पतालका डा.सन्तोषप्रसाद बोहराले जानकारी दिए । ‘उहाँलाई अक्सिजन लगाएरै स्वास्थ्यकर्मीसहितको टोलीले अस्पतालमा ल्याउनु भएको थियो, अस्पतालमा ल्याउँदा उहाँमा ६६ प्रतिशत मात्रै अक्सिजनको मात्रा थियो, एक हप्तासम्म हामीले सम्भव भएसम्मको विधिबाट उपचार गर्‍यौँ, अहिले अक्सिजनको तह पनि ठीक छ, कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको छ, त्यसपछि उहाँलाई घर फिर्ता गरेका छौं’, डा. बोहराले भने ।

अस्पतालसम्म ल्याइपुर्‍याउँदा मानिस चिन्न समेत छाडिसकेकी वृद्धा आमाले कोरोना सङ्क्रमण जितेर निको भएपछि पहिलेकै जस्तो सामान्य अवस्थामा फर्किएको पुनका छोरा खिमबहादुर पुनले बताए । ‘अस्पतालको उपचारबाट हामी खुसी छौँ, सुरुमा आमाले मलाई समेत चिन्नु हुँदैन थियो, उपचार गर्दै जाँदा चिन्न थाल्ने हुनुभयो, डाक्टर र स्वास्थ्यकर्मीले निरन्तर जाँच र हेरचाह गरेकामा हामी हर्षित भएका छौँ’, पुनले भने ।

कोरोना जितेर निको भएपछि वृद्धा आमालाई गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक विज्ञहरुबाट सिफारिस भएका औषधिहरु उपलब्ध गराएर बिदाइ गरेका थिए । साथै उनले अस्पतालको सेवा र उपचारको क्रममा निःशुल्क खाना खाजाको सुविधाबाट प्रभावित भएर यस सेवाकै लागि सात हजार नगद रुपैयाँ समेत सहयोग हस्तान्तरण गरेका थिए ।

 
 
  
 

You may also like