पर्सा । पर्साको जीराभवानी गापा ५ स्थित दलित बस्तीका वृद्ध जयकिसुन पासवान भन्छन्, ‘पोहोर त ढिलै भए पनि मुखिया (वडा अध्यक्ष) जीले चामल दाल ल्याएर दिए, यसपालि त अहिलेसम्म नाकमुख पनि देखाउन आएका छैनन् ।
महिना दिनदेखि जारी निषेधाज्ञाका कारण छाक टार्नै समस्या भएपछि दुःख बिसाउँदै जयकिसुन भन्छन्,‘महिना दिन भइसक्यो छोराको काम बन्द छ, हामी बुढाबुढीको हातपाउ चल्दैन, बृद्ध जयकिसुनले भने, ‘छरछिमेकबाट पैँचो पाएका दिन चुल्हो बल्छ, नभए भोकै सुत्नुपर्छ ।’
बजारमा मकै पोलेर छाक टार्दै आएका वीरगन्ज १० घडीअर्वाका कोदइ साहको दुखेसो पनि उस्तै छ । उनी भन्छन्, ‘जोगाएर राखेको पैसा सकिसक्यो, अब छरछिमेकबाट सापटी मागेर छाक टारिरहेका छौँ ।’
पर्सामा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा लगाइएको १ महिना भइसकेको छ । वैशाख १६ देखि सुरुमा एक हप्ताका लागि लगाइएको निषेधाज्ञा जेठ २० सम्मका लागि थपिएको छ । अझै कति दिनसम्म लम्बिने यकिन छैन ।
महिना दिनदेखिको निषेधाज्ञाका कारण बजार, पसल, औद्योगिक प्रतिष्ठान कलकारखाना सबै बन्द छन् । अति अत्यावश्यक काम बाहेक घर बाहिर निस्किन स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । जसकारण दैनिक ज्याला मजदुरी गरेर जीवीकोपार्जन गर्दै आएका परिवारहरु समस्यामा परेका छन् । त्यसमा पनि सुकुम्वासी र दलित बस्तीका परिवार भने बिहान बेलुकाको छाक टार्न नसकेर अझ धेरै समस्यामा परेका छन् ।
पोहोर सालको लकडाउनका बेला ढिलै भए पनि पर्साका हरेक स्थानीय तहले प्रदेश सरकारको समन्वयमा अति विपन्न परिवारका लागि राहत प्याकेजको व्यवस्था गरेका थिए । यसपालि निषेधाज्ञा लगाइएको १ महिना बितिसक्दा पनि पर्सा जिल्लाका कुनै पनि स्थानीय तहले आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका लागि राहत वितरण गरेका छैनन् । निषेधाज्ञाले समस्या परेकाहरु बारे स्थानीय सरकार बेखबर जस्तै भएपछि केही सामाजिक संघ संस्था र मनकारी दाता भने सहयोगका लागि अगाडि सरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट