कोरोनाका बिरामीलाई लक्षित गरि बुटवलको जीतगढीमा ५० शैयाको अस्पताल

बुटवल। बुटवलको वडा नं. १३ मा ५० शैयाको अस्पताल सञ्चालनमा आएको छ । २०६७ सालमा बुटवलमा स्थापित एडमण्ड सिटी हस्पिटल बिबिध आरोह अवरोहका बिच नयाँ व्यबस्थापनमा पुनः सञ्चालनको तयारी गरिएको हो ।
कोरोना भाईरस संक्रमणको महामारीका बिच कोरोना संक्रमित बिरामीलाई उपचारमा महुँच बृद्धि गर्न, संक्रमणका कारण स्वास्थ्यमा हुने जटिलतालाई न्यूनिकरण गरि उपचारको अभावमा हुने मृत्युलाई न्यूनीकरणमा सहयोग गर्नको लागि गुणस्तरीय स्वास्थ्य सेवा सहित अस्पताल सञ्चालनको तयारी गरिएको अध्यक्ष प्रकाश रानाले बताउनु भयो ।

बुटवल उपमहानगरपालिका वडा नं. १३ जीतगढीमा १ विगाहा क्षेत्रफल भित्र सञ्चालन तयारी गरिएको अस्पतालमा भेन्टीलेटर सहित ८ शैयाको आईसीयु, ७ शैयाको एचडीयु र ३५ शैयाको कोभिड आइसोलेशन सहित ५० शैयाको अस्पताल सञ्चालनमा ल्याउन लागिएको अस्पतालले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । कोरोना महामारीको बिचमा अस्पतालका उपकरणहरु खरिद तथा अन्य पूर्वाधारको लागि धेरै कठिनाई आएपनि विपदको समयमा अस्पताल सञ्चालन गर्नुको अर्थ बिशेष महत्वको हुने भएकाले व्यबस्थापकीय कठिनाईका बिच पनि अस्पताल सञ्चालनमा ल्याईएको पत्रकार सम्मेलनमा अध्यक्ष रानाले बताउनु भयो ।

सरकारले जारी गरेको सबै प्रकारका मापदण्डको पालना गरेर स्वास्थ्य क्षेत्रमा लामो अनुभव हासिल गरेका प्रतिष्ठित चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पतालमा सेवा गर्नेछन् । अस्पताल सञ्चालनमा आएपछि अस्पतालमा सञ्चालन हुने सेवाहरु फिभर क्लिनिक, ईमर्जेन्सी सेवा, प्रयोगशाला, एक्सरे तथा फार्मेसी २४ सै घण्टा सञ्चालन गरिने छ । त्यस्तैगरी एचडीयु र आईसीयु सेवा प्रत्येक ४८ घण्टामा निर्मलीकरण गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

तत्काल अस्पतालमा ४ जना कन्सल्टेन्ट डाक्टर, १० जना मेडिकल अफिसर, ३२ जना नर्स र २२ जना प्यारामेडिक्स सहित १४० जना जनशक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको उहाँले बताउनु भयो । हालको आवश्यकताका आधारमा तत्काल कोभिड व्यबस्थापन सेवा सुरु गरिएपनि कोरोना महामारी नियन्त्रण पश्चात ट्रमा, न्यूरो तथा क्यान्सर बिशेष सेवा सहित अन्य स्वास्थ्य सम्बन्धि बिशेषज्ञ सेवा उपलब्ध गराईने परिकल्पना गरिएको अध्यक्ष रानाले जानकारी गराउनु भयो । अस्पताल सञ्चालनको लागि भौतिक पूर्वाधार बाहेक उपकरण तथा त्यसको व्यबस्थापनमा मात्रै तीन करोड रुपैंया खर्च भएको उहाँले जानकारी गराउनु भयो ।

 
 
  
 

You may also like