पानी जमेको इँटा भट्टाको खाल्डोमा डुबेर दाजुभाइको गयो ज्यान

जनकपुरधाम। महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका दाजुभाइको ज्यान गएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका– ९ गोठबनौली निवासी रामकरण मण्डलका १० वर्षीय छोरा आशिककुमार र नौ वर्षीय प्रेमकुमार छन् । घर नजिकै रहेको एमपीएस इँटा उद्योगले माटो झिक्न खनेको खाल्डोमा डुबेर दाजु–भाइको मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

उनका अनुसार शनिबार साँझ वर्षाको पानी जम्मा भएको खाल्डोमा डुबेका दाजु–भाइलाई देखेपछि स्थानीयले उद्धार गरेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए । त्यहाँँ प्राथमिक उपचारपश्चात थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर ल्याउने बित्तिकै मृत्यु भएको विष्टले बताए ।

दुबै दाजु–भाइ खेल्दाखेल्दै खाल्डोसम्म पुगेर डुबेको स्थानीयले बताएका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like