राष्ट्रपति र प्रधानमन्त्रीको संस्कार ठिक नहुँदा दुष्परिणाम भोगिरहेका छौं : देउवा

काठमाडौं। नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले कुनै देशको राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको बिषय बन्दछ र बन्नु पर्दछ भनेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोगिरहेका बताए । अतः गणतन्त्र दिवसमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न उनले समस्त नेपालीमा अपिल गरे । नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२–६३ को सफलता पश्चात काँग्रेसको नेतृत्वमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको देउवाको भनाइ छ ।

शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

कोभिड-१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहँदा सरकार जनताको जीवनप्रति सर्वथा उदासीन र संवेदनहीन देखिएको देउवाले बताए । यस स्थितिमा संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका लागि उनले सबैलाई आग्रह गरे ।

 

 
 
  
 

You may also like