नेपाल र इराकले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं। नेपालले आज (शनिबार) इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । विश्वकप छनोटको तयारीमा रहेका नेपाल र इराकबीचको खेल आज राति सवा १० बजे इराकको अल्फायहा मैदानमा शुरु हुनेछ ।

फिफा वरीयतामा नेपालभन्दा निक्कै माथि रहेको इराकलाई जित्नु नेपालका लागि निकै चुनौतीपूर्ण देखिन्छ । फिफा वरीयतामा इराक ६८ औं स्थानमा छ । नेपाल १७१ औं स्थानमा छ । नेपालले अहिलेसम्म इराकसँग ३ वटा खेल खेलेकामा सबै खेल इराकले नै जितेको छ ।

नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले यसपटक नेपालका धेरै युवा खेलाडीलाई समेटेर टिमलाई औसत २३ वर्षको बनाएका छन् । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाल उतैबाट कुवेत जानेछ ।

विश्वकप अन्तर्गत नेपालले जुन ३ तारिखमा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपालले अहिलेसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार ब्यहोरेकाले छनोटको सम्भावना न्यून छ तर एसियाकपमा छनोटको सम्भावना भने रहेको छ ।

 
 
  
 

You may also like