मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना, हिमाल आरोहण नगर्न आग्रहA

काठमाडौं। आज (शुक्रबार) देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको काठमाडौंस्थित मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो पनि पानी पर्ने क्रम जारी रहनेछ भने पाँच वटा प्रदेशका केही स्थानमा निकै ठूलो वर्षा हुने र हावाहुरी समेत आउने सम्भावना छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी-अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उच्च हिमाली–पहाडी भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात–वर्षा र गण्डकी प्रदेशका केही स्थानमा वागमती प्रदेश, प्रदेश–१ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली–पहाडी भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ । विभागले मेघगर्जन, चट्याङ, हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात–वर्षा तथा उच्च बेगको हावाहुरी समेत आउनसक्ने सम्भावना रहेकोले केही दिन पर्वतारोहण नगर्नु र नगराउनु भनेको छ ।

मौसमविद् मीनकुमार अर्याल शनिबार दिउँसोबाट क्रमशः मौसममा सुधार हुँदै जाने बताउँछन् । ‘पूर्व, मध्य र पश्चिम हुँदै चक्रावातको असर भोलि दिउँसोबाट हट्दै जाने छ’, उनी भन्छन्, ‘यसकै असर अहिले तुलनात्मक रुपमा पूर्वी नेपालमा बढी देखिएको छ । पूर्वका जिल्लामा पानी पर्ने र हावाहुरी चल्ने भइरहेको छ ।

पछिल्लो १८ घण्टामा ४ मिलिमिटर पानी परेको काठमाडौंमा पनि आज दिनभर वर्षा हुने मौसमविद् अर्याल बताउँछन् । यसैबीच, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शक्तिशाली चक्रवातका कारण पुग्नसक्ने क्षतिबाट बच्न यसअघि नै आग्रह गरिसकेको छ । बस्ती नजिक बाढी, पहिरो, डुबान जोखिम आंकलन गरी सुरक्षाकर्मी एवम् गाउँपालिकासँगको समन्वयमा सुरक्षित स्थानमा सर्न प्राधिकरणले आग्रह गरेको छ ।

पर्वतारोहणका लागि हिमालतिर गएको टोलीलाई तुरुन्त फिर्ता बोलाउन पनि प्राधिकरणले आग्रह गरेको छ । नदी, खोला किनार एवम् पहिरो आसपास बसोबास गर्ने बासिन्दा सतर्क अवस्थामा रहनुपर्नेबारे सञ्चार माध्यममार्फत सचेत गराउनु पर्ने बताउँदै प्राधिकरणले आफ्नो आसपासको ठाउँमा बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिए सुरक्षा निकाय, पालिका एवम् जिल्ला विपद् व्यवस्थापन समितिलाई खबर गर्न भनेको छ ।

काठमाडौं उपत्यकामा ठूलो वर्षा भएको छैन
मौसमविद् मीनकुमार अर्यालयका अनुसार काठमाडौं उपत्यकामा अहिलेसम्म खासै ठूलो वर्षा भएको छैन । हल्का वर्षा मात्र भएको छ । अहिले बिहानको रेकर्ड ४ मिलिमिटर मात्र मापन भएको उनले जानकारी दिएका छन् । उपत्यकासहित विभिन्न स्टेसनको वर्षा मापनको रेकर्ड पौने ९ बजे आउने उनले बताए । ‘वर्षा खासगरी पश्चिम र पूर्वतिर केन्द्रित छ,’ उनले भने,’ उपत्यकामा खासै छैन ।’

 
 
  
 

You may also like