‘यास’ चक्रवातको प्रभाव नेपालमा पनि पर्ने, सतर्क रहन चेतावनी

काठमाडौं । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्र आज (सोमबार) बाट चक्रवातमा परिणत हुने र यसको असर नेपालमा पनि पर्ने मौसमविदले जानकारी दिएका छन् । चक्रवातका कारण हिमपात, वर्षा तथा हावाहुरी समेत आउने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।

‘पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्र सोमबार (जेठ १० गते) चक्रवातमा परिणत भई मंगलबारसम्ममा अतिधेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिन्छ । उक्त चक्रवातको केही असर नेपालको भू–भागमा समेत पर्ने सम्भावना छ’, मौसमविद् वरुण पौडेलले भने, ‘सो प्रणालीका कारण मंगलबार अपरान्हपछि देशका धेरै स्थानमा सामान्यदेखी पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश–१ का उच्च हिमाली–पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना रहेको छ । तसर्थ उच्च हिमाली भूभागमा हावाहुरीसमेत आउनसक्ने सम्भावना रहेकाले मंगलबारदेखि केही दिनसम्मका लागि पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध छ ।’

देशका धेरै स्थानमा बुधबारबाट केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश–१, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा र बिहीबार कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । उच्च हिमाली भू–भागमा हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहिहरूलाई सतर्क रहन मौसमविद् पौडेल आग्रह गर्छन् ।

‘यो सिजनमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ’, विभागले भनेको छ । नेपालको पूर्वी क्षेत्रमा यसको असर बढी पर्ने मौसमविद् वरुण पौडेल बताउँछन् । ‘यो चक्रवातको असर नेपालको पूर्वी क्षेत्रमा बढी पर्ने देखिन्छ । यद्यपि यसको असर मध्ये क्षेत्र र पश्चिममा पनि पर्नेछ’ मौसमविद् पौडेल भन्छन्, ‘यसबाट सचेत रहन र विभागको सूचना अनुसार सतर्क रहन हाम्रो आग्रह छ ।’

 

 
 
  
 

You may also like