कोरोना महामारीबीचको चुनाव स्वतन्त्र र निष्पक्ष हुन सक्दैन : राप्रपा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निष्पक्ष चुनाव हुन नसक्ने बताएको छ ।
आज (आइतबार) बसेको राप्रपाको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले जनताको अभिमत र शक्तिबाटै राजनीतिक कमजोरी र विकृति समाधान गर्न सकिने भए पनि महामारी नियन्त्रण नभएसम्म चुनाव निष्पक्ष र स्वतन्त्र नहुने निष्कर्ष निकालेको हो ।

‘कोरोना महामारीको विषम परिस्थितिमा अहिले देशलाई चुनावमा धकेलिएको छ । यस्तो डरलाग्दो महामारीका बीच चुनावमा कसरी जाने भन्ने गम्भीर प्रश्न खडा भएको छ । कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निषपक्ष चुनाव हुन सक्दैन’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ ।

राप्रपाले राज्यको सम्पूर्ण शक्ति र स्रोत परिचालन गरी कोरोना महामारी नियन्त्रण गर्न र आम नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्काल प्रारम्भ गर्न सरकारसँग माग गरेको नेता मोहन श्रेष्ठले बताए ।

त्यस्तै चुनाव हुने वैधानिक र व्यवहारिक परिस्थिति निर्माण भएमा सर्वदलीय सहमतिको आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न पनि राप्रपाले माग गरेको छ ।

‘अहिले देशमा जुन परिस्थितिको बिकास भएको छ, त्यसको मूलजरो कथित १२ बुँदे सहमति, सो समझदारीको जगमा खडा गर्न खोजिएको राजनीतिक प्रणाली, हिन्दुराष्ट्र र राजसंस्थालाई षडयन्त्रपूर्वक हटाउने कार्य तथा सो परिवर्तनका संवाहकहरूको सत्तालिप्सा र आमजनता प्रतिको उपेक्षा हो,’ सो पार्टीको दाबी छ । नेपाली जनताको अभिमत र शक्तिबाट ती कमजोरी र विकृतिको समाधान खोज्न सकिन्छ भन्ने बिश्वासको कारण राप्रपा सिद्धान्ततः चुनावको पक्षमा रहेको सो पार्टीले जनाएको छ ।

 

 
 
  
 

You may also like