स्थानीय तहसम्मै कार्यगत एकता गरेर अघि बढ्ने विपक्षी गठबन्धनबीच सहमति

काठमाडौं। राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गरिएको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणाविरुद्ध एकजुट बनेको पाँच दलीय विपक्षी गठबन्धनले स्थानीय तहसम्मै कार्यकगत एकता गर्ने सहमति गरेको छ ।

आज (आइतबार) बानेश्वरमा भएको विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच बैठकमा केन्द्रमा जस्तै मातहतका सबै कमिटीमा एकजुट भएर ओलीको कदमविरुद्ध लागि पर्ने निर्णय भएको कांग्रेस नेता गगन थापाले जानकारी दिए । ‘केन्द्रमा पाँच शक्तिबीच जसरी मोर्चाबन्दी भएको छ, त्यस्तै मातहतका कमिटीमा पनि यी पाँच वटै शक्तिबीच मोर्चाबन्दी गरेर सरकारविरुद्ध राजनीति र न्यायिक लडाई लड्ने सहमति भएको छ’, थापाले भने, ‘सम्बन्धित पार्टीले आफ्ना मातहतका कमिटीलाई निर्देशन दिने शीर्ष नेताहरुबीच सहमति भएको छ ।’

सहमतिअनुसार आज पाँच वटै दलका नेताहरुले आआफ्नो पार्टी कमिटीलाई निर्देशन गर्ने थापाको भनाइ छ । बैठकमा कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधवकुमार नेपाल समूह र जनमोर्चाका नेताहरुको सहभागिता थियो ।
जेठ ७ मा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर विपक्षी गठबन्धनले राष्ट्रपतिसमक्ष १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेको थियो । तर सो हस्ताक्षरलाई राष्ट्रपतिले वैधता दिइनन् ।

यस्तै एमाले अध्यक्ष केपी ओलीले पनि आफ्नो पक्षमा १५३ सांसद रहेको दावी पेश गरेका थिए । तर दुबै पक्षले बुझाएको हस्ताक्षरका कैफियत देखाउँदै राष्ट्रपतिले आफ्नो आह्वान अनुसार संविधानको धारा ७६(५) अनुसार सरकार बन्न नसकेको उल्लेख गरेकी थिइन् ।

लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक राखेर संसद विघटनको सिफारिस गरेका थिए भने राष्ट्रपतिले पनि तुरुन्तै स्वीकृत गरेकी थिइन् । राष्ट्रपतिको कदमपछि शनिबार विपक्षी गठबन्धनको बैठक बसेर राष्ट्रपति र प्रधानमन्त्रीको निर्णयप्रति राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय भएको थियो । सोही अनुसार गठबन्धन सोमबार सर्वोच्च जाने भएको छ भने ओलीविरुद्ध देशभर नै एकजुट भएर लड्न लागेको हो ।

 

 
 
  
 

You may also like