राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरे : देउवा (विज्ञप्ती)

काठमाडौं। प्रतिपक्षी नेपाली कांग्रेसले सरकारबाट निरन्तर संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको आरोप लगाएको छ । सभापति शेरबहादुर देउवाले आज (शनिबार) विज्ञत्ति जारी गर्दै केपी शर्मा ओलीलाई पुनः तोक्नु असंवैधानिक मात्र होइन अनैतिक पनि भएको बताएका छन् ।

देउवाले आफूले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमत सहित १४९ जना सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गर्दा पनि राष्ट्रपतिले आफूलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा त्यसलाई इन्कार गरेको भनी आपत्ति प्रकट गरेका छन् ।

‘नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नुभयो । बरु एकपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्कोपटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन् । नेपालको संविधानको अक्षर र भावना अनुसार माननीय ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैर संवैधानिक दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र होइन अनैतिक पनि हो’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई निजी सम्पतीको रुपमा आफू अनुकूल प्रयोग गरेको जिकिर पनि गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीे षडयन्त्र र पदको चरम दुरुपयोग गरी संविधान समाप्त गर्न उद्दत रहेका नेपाली कांग्रेस ठहर छ ।

‘राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेका छन् । प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिश गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधान बमोजिम नियुक्त गर्नु पर्ने म प्रतिनिधि सभाका सदस्यलाई नियुक्त गर्नु पर्ने र दावी नै गर्न नमिल्ने माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य हुन् । यी काम राष्ट्रपति र प्रधानमन्त्रीको वदनियतपूर्ण ढंगले मिलोमतोमा षड्यन्त्रपूर्वक भएका छन् भन्ने तथ्य प्रधानमन्त्री नियुक्त भएको १ घण्टामा सबै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गरेको घटनाबाट प्रमाणित भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीे षडयन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उद्दत रहेका छन् भन्ने नेपाली कांग्रेस ठहर गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस यी सबै कार्यको घोर भत्र्सना र निन्दा पनि गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट भई कार्य गर्न देउवाकको आह्वान छ । उनले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

 
 
  
 

You may also like