राष्ट्रपतिलाई माधव नेपालको प्रश्न : म यहिं छु, मेरो हस्ताक्षर कसरी पहिल्यै आयो ?

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो हस्ताक्षर कसरी आइपुग्यो भन्दै प्रश्न गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर लिएर शीतलनिवास पुगेका नेता नेपालले राष्ट्रपति समक्ष कसरी आफ्नो नाम पहिल्यै आएको भनेर प्रश्न गरेका हुन् ।

त्यसमा राष्ट्रपतिले कुनै जवाफ नदिएको स्रोतले जानकारी दिएको छ । हस्ताक्षर बुझाउने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान बमोजिम अघि बढ्न आग्रह गरेका थिए । नेता नेपालले पनि राष्ट्रपतिलाई संविधानले दिएको अधिकार प्रयोग गर्न आग्रह गरेका थिए ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीले संवैधानिक हिसाबले दाबी गर्नै नमिल्ने बताएका थिए । ‘संवैधानिक हिसाबले विश्वासको मत लिनुपर्ने मान्छेले कसरी दाबी गर्न मिल्छ ?’, श्रेष्ठको प्रश्न थियो, ‘विश्वासको मत लिन नसक्ने भनेर मार्गप्रशस्त गर्ने भनेको होइन ? अहिले दाबी कसरी गर्न मिल्छ ?’

 

 
 
  
 

You may also like