मानव अधिकार तथा शान्ति समाजद्वारा सिलिण्डर संकलन गरी हस्तान्तरण

बुटवल। मानव अधिकार तथा शान्ति समाजले समुदायस्तरमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमितको उपचारमा सहयोग पुर्याइ जीवन बचाउने उद्देश्यले सिलिन्डर संकलन अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत समुदायस्तरमा संकलन गरिएका १० थान अक्सिजन भरिएका ठुला सिलिण्डर लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । शान्ति समाजका सभापति गोविन्द खनालको नेतृत्वमा खटिएको एक टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठलाई उक्त सिलिण्डरहरु हस्तान्तरण गरेको हो ।

रुपन्देही लगायत विभिन्न जिल्लामा संचालन गरिएको मानव अधिकार तथा शान्ति समाजको ‘अक्सिजन सिलिन्डर जुटाउँ–जीवन बचाउं’ भन्ने अभियान अन्तर्गत सिलिण्डर संकलन गरिएको र उक्त सिलिण्डर मन्त्रालयमार्फत अत्यावश्यक बिरामीका लागि कोभिड अस्पतालमा वितरण हुने विश्वास गरिएको छ ।

सिलिण्डरहरु अक्सिजन बैंकका नाममा ठाँउठाँउमा जम्मा गर्दा र संचितका नाममा घरघरमा थुपार्दा अस्पतालमा छटपटाइरहेका बिरामीले अक्सिजन नपाएको र उपचार अभावमा ज्यान गुमाउनु परेका भन्ने गुनासो आएकाले यो अभियान संचालन गरिएको मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले बताए ।

यसै सन्दर्भमा समाजको टोलीले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनाल तथा कोरोना विशेष अस्थायी अस्पतालका फोकल पर्सन डा. नन्दु पाठकसंग अस्पतालमै पुगेर छलफल गरेको छ । छलफल अक्सिजनको सुलभ आपूर्ति, संक्रमित बिरामीको चाप व्यवस्थापन, एचडीयू आइसीयू संख्या वृद्धि, सरकारी संयन्त्र र संक्रमितको उपचारमा अस्पतालहरुको प्रोटोकलको एकरुपता, आइसोलेशन सेन्टरहरु र अस्पतालसंगको सहकार्य, स्वास्थकर्मीहरुको आवास व्यवस्थापन लगायतका विविध विषयमा केन्द्रित रहेको थियो ।

छलफलमा चिकित्सकहरुको तर्फबाट नागरिक संस्थाहरुको क्रियाशिलताले महामारीमा सिपाही बनेर अग्रपंक्तिमा लडिरहेका स्वास्थकर्मीको मनोबल उच्च हुने हुँदा सक्रियताको निरन्तरता अपेक्षा समेत गरिएको थियो । छलफलमा शान्ति समाजका अभियानकर्मीहरु लालहरि पाण्डे, हरिश ढकाल, कमला पाण्डे लगायतको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like