राष्ट्रिय सभा उपनिर्वाचन : ३३८ भोट खस्यो, नौं जना अनुपस्थित, आजै नतिजा

मकवानपुर। राष्ट्रियसभाको उपनिर्वाचनको मतदान कार्य सकिएको छ । आज (बिहीबार) भएको मतदानमा ९७.४० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । मकवानपुरको हेटौंडास्थित भुटनदेवी उच्चमाविको प्राङ्गणमा बिहान ९ बजेदेखि मतदान शुरु भएको थियो ।

दिउँसो ३ बजेसम्म तोकिएको मतदानको अवधि सकिँदा कुल ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रियसभाको सदस्य पदका लागि भएको उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये नौं जना मतदानमा अनुपस्थित रहे । प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ जना मतदाता रहेकोमा ३३८ जनाले मात्रै मतदान गरेका हुन् । १०९ सांसदमध्ये १०५ जना मात्र मतदानमा सहभागी भएका छन् भने स्थानीय तहका २३८ मध्ये २३३ जनामात्र उपस्थित रहे । १४४ मत भार रहेको विवेकशील साझा पार्टीका तीन जना जनप्रतिनिधिले ‘नो भोट’ भन्दै कसैलाई पनि मतदान गरेनन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठले ४ जना प्रदेश सांसद र ५ जना स्थानीय तहका अध्यक्ष–उपाध्यक्ष निर्धारित समयमा मतदान गर्न नआएको जानकारी दिएका छन् । अब सर्वदलीय बैठक राखेर केही घण्टापछि नै मतगणना शुरु गर्ने उनले बताएका छन् । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले माओवादी पार्टी परित्याग गरेपछि रिक्त रहेको स्थानमा सो उपनिर्वाचन भएको हो ।

निर्वाचनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट थापा नै उम्मेदवार छन् भने एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट डा. खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई नेपाली कांग्रेस र माओवादी केन्द्रको साथ छ । माओवादीले डा. देवकोटालाई मतदान गर्न ह्वीप नै लगाएको थियो । यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् । आजै नतिजा सार्वजनिक गर्ने तयारी छ । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको छ ।

 
 
  
 

You may also like