राष्ट्रियसभा सदस्यका लागि मतदान शुरु, गृहमन्त्री ‘बादल’ छाता ओढेर मतदानस्थलमा

हेटौंडा। राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शुरु भएको छ । मतदान सक्ना साथ गणना शुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।

प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान सकिएपछि साँझ पाँच बजेबाट मतगणना शुरु गर्ने योजना छ । मतदानस्थल हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमै मत गणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको श्रेष्ठले जानकारी दिए ।

बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि करिब सवा नौ बजेबाट मतदान शुरु भएको छ । स्थानीय तहबाट धुलिखेल नगरपालिकाका प्रमुख र प्रदेशसभा सदस्यको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरे । मतदानको समय दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ ।

निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, विपक्षी गठबन्धनको तर्फबाट संघीयताविज्ञ खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का कृष्णबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमालेभित्रको विवादले चुनाव पेचिलो बने पनि वर्षा र कोरोना त्रासका कारण चुनावी चहलपहल खासै देखिएको छैन । निर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विपक्षी गठबन्धनबाट एमालेकै माधव नेपाल पक्षका नेता डा. खिमलाल देवकोटा चुनावी मैदानमा छन् ।

दुवै उम्मेदवार र धेरै जना मतदाता बुधबारै हेटौंडा पुगेका छन् । गृहमन्त्री बादल मतदान शुरु हुनुभन्दा अघि आज बिहानै भुटनदेवीस्थित मतदान केन्द्र पुगेका छन् । एमाले बागमती प्रदेशका नेताहरूका साथ बुधबार हेटौंडा पुगेका गृहमन्त्री बादल होटल एभोकाडमा बसेका छन् भने उनका प्रतिस्पर्धी डा. देवकोटा कांग्रेसका मकवानपुर सभापति आनन्द पराजुलीको घर (पुष्पलाल पार्क) मा बसेका छन् ।
उम्मेदवारहरु आफूले आफैंलाई भोट हाल्न पाउँदैनन् । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशसभा सदस्य, बागमती प्रदेश अन्तर्गतका पालिकाका प्रमुख र उपप्रमुखले मात्र भोट हाल्न पाउँछन् ।

उपनिर्वाचनमा वागमती प्रदेशसभा सदस्य ११० तथा वागमती प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी ३४८ मतदाता छन् । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा उपनिर्वाचन गरिएको हो ।

 
 
  
 

You may also like