तीन दिनमा तीन भाइको निधन

नेपालगन्ज । मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद) को पवित्र रोजा चलिरहेको थियो । नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीन भाइलाई रोजाकै बेला कोरोना संक्रमण भयो र ज्यान गयो ।

स्व.नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये काइलो ४८ वर्षका इम्तियाज अमहद, राइलो ४६ वर्षका एजाज अहमद र ४१ वर्षका कान्छो जहिर अहमदले ३६ घण्टाको अन्तरमा भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा ज्यान गुमाए ।

जहिर क्रिकेटका राष्ट्रिय खेलाडी थिए । एजाज अदालती अभ्यासमा नभए पनि अधिवक्ता थिए । इम्तियाजको लन्ड्री पसल छ । २२ वैशाखमा कान्छा जहिरको निधन भयो । अर्को दिन २३ वैशाखमा एजाजले ज्यान गुमाए । २४ वैशाखमा इम्तियाजले पनि संसार छोेडे । ३ भाइको निधनको शोकमा ५५ वर्षीया दिदी नूर अपसाको पनि घटनाको केही दिनमै मृत्यु भयो ।

हट्टाकट्टा, खासै रोग नभएका एकै परिवारका तीन–तीन दाजुभाइको निधनले सुनारमण्डी टोल शोकमा डुब्यो । खबर नगरमा सनसनीपूर्ण रूपमा फैलियो । कोरोना केही पनि होइन भन्ने सबैलाई अहिले स्तब्ध बनाएको छ । झस्काएको छ । घटनाको झन्डै दुई सातासम्म पनि टोल शोकाकूल छ । अझै पनि आफन्तहरू घरमा आउन सकेका छैनन् । मृत्युको खबरले आफन्त धेरैले रोजा पूरा गर्न सकेनन् । इस्लाम धर्ममा बिरामी, अशक्त र बालबालिकालाई रोजा नगर्न पनि छुट हुन्छ ।

नेपालगन्जको सदरलाइनमा एकलैनी जाने बाटोको ठीक पश्चिमको गल्ली हुँदै ५० मिटरको दूरीबाट उत्तरमा जाँदा हल्वाइ परिवारको मिनी कोलोनी जस्तो घर आउँछ । २ कठ्ठाभन्दा बढी क्षेत्रफलमा वरिपरि सात भाइका २ देखि ३ तले ७ वटा घर छन् ।

छतहरू सबै जोडिएको एउटै गोल घर जस्तो देखिन्छ । एउटा घरमा कम्तीमा चारदेखि बढीमा ९ कोठा छन् । चारैतिर घर र बीचमा झन्डै १० धुर जति सबैको साझा आँगन छ । चारैतिर घर नै घर भएकाले पर्खाल लगाउनु परेको छैन । सबैका लागि एउटै मूल गेट छ । जहाँ अल्लाह कम्प्लेक्स लेखिएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like