कोरोनाले दिएको पीडा : जीवन गुम्यो, थाप्लोमा ऋण चढ्यो

सप्तरी। सप्तरी डाक्नेश्वरी नगरपालिका–८ बिसहरिया गाउँका ४० वर्षीय शम्भुनन्दन चौधरी रूघाकोखीबाट संक्रमित भए ।
उनले राजविराजका चिकित्सक डा. टेकनारायण मण्डलको सल्लाहमा औषधि सेवन गर्न थाले। औषधि खाँदा निको नभएपछि उनलाई शंका लाग्यो । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा आरटी पिसिआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आयो । तर रुघाखोकीसँगै ज्वरो टसमस भएन। झन् झन् बल्झिँदै गयो ।

वैशाख १८ मा सहयोगी राजेन्द्र यादवसँगै उनी चिनजानका डा. लक्ष्मीनारायण यादवसँग जाँच गराउन विराटनगर पुगे । डा. यादवले एक्सरेसहित केही परीक्षण गराउन सल्लाह दिए । एक्सरे रिपोर्ट हेरेपछि डा. यादवले चौधरीलाई कोरोनाको शंका गरे । तत्काल उनको अक्सिजन सेचुरेसन जाँच गर्दा ८२ देखायो । डा.यादवले तुरुन्त अक्सिजन सपोर्टमा राख्न सल्लाह दिँदै कोशी अस्पताल रेफर गरे । करिब एक घन्टा अक्सिजन दिएपछि चौधरीले सास फेर्न सहज महसुस गरे ।

लगत्तै पिसिआर परीक्षणका लागि स्वाब लिएर उनलाई आइसोलेसनमा भर्ना गरियो । आइसोलेसनमै रहेका बेला वैशाख १८ मा उनको रिपोर्ट पोजेटिभ आयो । सोही राति करिब ८ बजे चौधरीलाई नोबेल मेडिकल कलेज एन्ड शिक्षण अस्पतालको आइसोलेसनमा भर्ना गराइएको सहयोगी राजेन्द्रले बताए । आइसोलेसनबाट आइसियु हुँदै वैशाख २९ मा डिस्चार्ज भएर घर फर्किने तरखर गरिरहँदा अचानक चौधरीको मृत्यु भयो । उनको उपचारमा करिब चार लाख रूपैयाँ खर्च भएको यादवले बताए । चौधरी परिवारमा घरमूली गुमाउनुको पीडासँगै ऋणको भारी चढेको छ ।

स्वास्थ्य जाँच र उपचार गराउन सोमबार विराटनगरस्थित कोशी अस्पताल गएकी चिनी रोगबाट पीडित सप्तरीको कञ्चनरूप नगरपालिका–११ गोरपारकी ६५ वर्षीया महिलाको पिसिआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भयो । अवस्था सामान्य रहेको भन्दै अस्पतालले होम आइसोलेसनमा बस्न सुझाव दिई उनलाई घर पठायो ।

गत बुधबार उनको अचानक स्वास्थ्य बिग्रियो । परिवारका सदस्य र गाउँलेले धरान, विराटनगर र राजविराजका अस्पतालसँग अनुनयविनय गरे । अस्पतालका बेड संक्रमितले भरिएको भन्दै कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि घरमै राखियो । उपचार नपाएपछि उनको सोमबार बिहान मृत्यु भएको परिवारका सदस्यले बताए । सरकारी अस्पताल कोसीले भर्ना नगरिदिएकै कारण उनको ज्यान गएको परिवारका सदस्यको गुनासो छ । नागरिक दैनिकबाट

 
 
  
 

You may also like