कोरोनाबाट तीन दिनको अन्तरमा दम्पतीको मृत्यु, आफन्त पनि नभएपछि दुई छोराको विचल्ली

सुनसरी । कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानमा तीन दिनको अन्तर एक दम्पतीको ज्यान गएको छ । धरान–१ स्थित सत्य साई मन्दिरमा हेरालुको रुपमा रहँदै आएका एक दम्पतीको तीन दिनको फरकमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको हो ।धरान उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार वैशाख ३१ गते विराटनगरस्थित एक अस्पतालमा निधन भएको थियो ।

उनको ३७ वर्षीय श्रीमतीको पनि हिजो आइतबार करिब ५ बजेतिर होम आइसोलेसनमा नै निधन भएको मेहताले जानकारी दिए । मृतकको शवलाई राति नै नेपाली सेनाको टोलीले अन्त्येष्टी गरिसकेको छ ।छिमेकी एवं कांग्रेस नेता विकास आचार्यका अनुसार मृतक दम्पती साई मन्दिर रेखदेख गर्थे भने श्रीमान कुकको पनि काम गर्ने गर्थे । कामको सिलसिलामा उनी धनकुटा गएका थिए । त्यहाँबाट फर्कदा ज्वरो आएपछि उनलाई विराटनगरस्थित अस्पतालमा उपचारको लागि लगिएको थियो । उनको विराटनगरमा नै निधन भएको थियो ।

श्रीमानको कुरुवा बसेकी श्रीमतीलाई पनि संक्रमण भएपछि होम आइसोलेसनमा नै बसेकी थिइन् । आइतबार चिच्याउने, कराउने गरेपछि स्थानीयले उपमहानगरपालिकामा खबर गरेका थिए । अस्पतालमा बेडको व्यवस्थापन गरेर राति १ बजे एम्बुलेन्स लिन पठाउँदा पनि बिरामीले अस्पताल नजाने भनेपछि लैजान नसकिएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए ।मृतक दम्पती १५ वर्षभन्दा कम उमेरका दुई जना छोरा छन् । उनीहरुको बुबा पट्टिको कोही आफन्त अहिलेसम्म सम्पर्कमा नआएको छिमेकी आचार्यले जानकारी दिए । उनले भने, ‘सानीआमा पर्ने धरानमा छ भन्ने सुनेका छौं, बुबा पट्टीको त केही पनि देखिएको छैन । दुई छोराको विचल्ली होला जस्तो भयो ।’

 
 
  
 

You may also like