कोरोनाबाट सात दिनमै एकै घरका दाजुभाइको मृत्यु

महोत्तरी । कोरोना भाइरस संक्रमणबाट महोत्तरीमा सात दिनभित्रै दाजुभाइको मृत्यु भएको छ । सम्सी गाउँपालिका–५ का एकै परिवारका दाजुभाइको एक साताको अन्तरालमा मृत्यु भएको हो ।

एक साताअघि बिरामी भएका ४२ वर्षीय पुरुषको उपचारका लागि जनकपुरधामस्थित काव्य अस्पताल लगिएको थियो । त्यहाँ पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएको एक दिनमै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयकी कोरोना फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिइन् । ती पुरुषको मृत्यु भएको एकसातापछि उनका ५५ वर्षीय दाजु पनि बिरामी भए । उनलाई शनिबार जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा भर्ना गरी कोरोना परीक्षण गर्दा आइतबार रिपोर्ट पोजेटिभ आयो । उनको उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको छ ।

दुवै दाजुभाइ एकै परिवारमा बस्दै आएको वडाध्यक्ष पन्नु राय यादवले जानकारी दिए । ‘खेतपाती गर्दै आएका दुवै दाजुभाइ एकदमै स्वस्थ देखिन्थें,’ वडाध्यक्ष यादवले भने, ‘कोरोना संक्रमण भएको देखिएकै थिएन । तर कोरोना लागेरै मृत्यु भएको जानकारी पाएँ ।’

कोरोना फोकल पर्सन सिंह एकै परिवारमा दुई जनाको कोरोना संक्रमणले मृत्यु भइसक्दा समेत कन्ट्याक्ट ट्रेसिङ गर्न जनप्रतिनिधिले चासो नदिएको बताइन् । प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भने आइतबारदेखि कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण शुरु गरिएको बताए ।

 
 
  
 

You may also like