नेकपामा ‘सी पथ’ को बहस : विचार की विकास

by समतल अनलाइन

काठमाडौं । अहिले सत्तारुढ दल नेकपा अहिले चिनियाँ राष्ट्रपति सी जीङपीङको विचारधारा पछयाएको आरोप खेपिरहेको छ । चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच काठमाडौँमा दुई दिने विचारधारात्मक प्रशिक्षण सम्पन्न भएपछि नेपाली राजनीतिमा नयाँ बहस शुरु भएको हो ।

राजनीतिक पार्टी कुनै विचारबाट निर्देशित हुन्छन् । त्यो नै उनीहरुको पार्टी राजनीतिको संबिधान हो । अहिले तत्कालिन एमाले र माओवादी एकीकरणपछि कुन विचारमा आगाडी बढ्ने भन्ने निर्क्यौल नभएको बेला नेकपामा सी पथ’ को बहस अब औपचारिक रुपमा नै अगाडी आएको देखिएको छ ।

एक किसिमले वैचारिक संक्रमणकालमा रहेको नेकपा मदन भण्डारीको बहुदलीय जनवादकै बाटोमा जाने भन्ने विषयमा विवाद रहेको छ । अहिले शिर्ष नेताहरु महाधिवेशनले टुंगो लगाउने गरि सहमतिमा पुगेका छन् । तर यसै बीचमा ‘सी पथ’ छिरेपछि अबको नेकपा कुन बाटोमा जान्छ भन्ने यकिन साथ भन्ने अवस्था रहेको देखिदैन ।

नेकपाका दोस्रो तहका नेताहरुले यो केवल प्रशिक्षण मात्र भएको र यसले पार्टीको विचारलाई निर्देशित गर्दैन भनेर स्पष्टीकरण दिइरहेका छन् । तर सबै कुरा उनीहरुले भने जस्तो नभएको आशंका राजनीतिक वृतमा गरिदै छ ।

चिनियाँ राष्ट्रपतिको असोज अन्तिम सातामा हुने भनिएको नेपाल भ्रमणको पुर्व सन्ध्यामा भएको यस घटनाले दुई कम्युनिष्ट पार्टीलाई नजिक मात्र बनाएको छैन नेपालमा चिनियाँ प्रभाव एक कदम अगाडी बढेको राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेका छन् ।

यस अघि खुलेर राजनीतिक बहसमा नआउने चीन अहिले हरेक दिन जसो सरकारका काममा सँगै देखिन थालेको छ यति मात्र होइन सत्तारुढ दललाई सी पथको प्रशिक्षण नै दिए पछि अब नेपालमा परम्परागत रुपमा हुदै आएको भारतीय दबदबा कम हुदै गएको र चिनियाँ प्रभाव बढेको अनुमान यसै गर्न सकिन्छ ।

दुई देशका सत्तारुढ पार्टीबीच भाइचारा सम्बन्ध हुनुलाई पार्टी बीचको मात्र सम्बन्धका रुपमा हेर्न मिल्दैन र सकिदैन । नेकपाको ‘सी पथ’ को प्रशिक्षण पछि राजनीति तरंगित बनेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा प्रतिक्रिया दिदै देशलाई सी पथमा जान नदिने उदघोष गरेको छ । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन् ।

उनले नेपाली जनताले कम्युनिष्ट शासन ल्याउन भोट नहालेको बताउदै नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको भन्दै उनले चीनमा जनताले मतदान गर्न नपाउने बताए ।

तर नेकपाका नेताहरुले भने यो प्रशिक्षण विचार र आपसी सिकाई आदानप्रदानका हिसाबले महत्वपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।

नेपाल र चीनको ७० वर्ष पुरानो भाइचाराको सम्बन्ध रहेको र नेपाल चीन सम्बन्ध राजकीय पार्टी हुनुको नाताले मात्रै होइन, विचारधारात्मक दृष्टिकोणले पनि उच्च रहेको नेकपाका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताए ।

उनले चिनियाँ कम्युनिष्ट पार्टीको आठौँ महाधिवेशनमा भाग लिन जाँदा मनमोहन अधिकारीलाई माओत्सेतुङ स्वयंले विमानस्थलमा स्वागत गरेको प्रसङ्ग जोड्दै दुई पार्टीबीचको सम्बन्ध कति पुरानो थियो भन्ने प्रष्ट हुने बताए ।

“यो विचारधारात्मक छलफल हो, चिनियाँ कम्युनिष्ट पार्टीले प्रशिक्षण दिएको भन्ने हिसाबले अपव्याख्या गरिएको छ, त्यो होइन, चीन समृद्धि, आधुनिकीकरण, विकास र गरीबी निवारणको जुन उचाइमा पुगेको छ, हाम्रो जस्तो विकासशील र कतिपय अल्पविकसित राष्ट्रका लागि ती अनुभवहरु महत्वपूर्ण हो”, थापाले भने ।

सन् २०१३ बाट चीनले शुरु गरेको नयाँ योजना वेल्ट एण्ड रोड इनिसियटिभ ९विआरआई० ले संसारका विभिन्न देशलाई एउटै कनेक्टीभिटीमा जोडेर जुन विकास विस्तारको कुरा अगाडि बढाएको छ, त्यसको सहभागी छिमेकी देश र हिमालय वारपारको सम्बन्ध भएको देशका हिसाबले पनि चीनसँग महत्वपूर्ण र समस्यारहित सम्बन्ध नेपालसँग रहेको नेताको भनाइ छ ।

नेताहरुले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यका साथ अगाडि बढेको नेपालका लागि आधुनिकीकरण, विकास, गरीबी निवारण र पछौटेपनको अन्त्यका निम्ति चिनियाँ अनुभव सिक्न लायक रहेको बताएका छन् ।

नेकपाका स्थायी कमिटी सदस्य पम्फा भूषालले पहिलो पटक आयोजना गरिएको छलफल ऐतिहासिक भएको स्मरण गर्दै चीनबाट सिक्ने यो महत्वपूर्ण अवसरको रुपमा लिएको बताएकी छन् । उनले भनिन, “वैचारिक राजनीतिसँगै समाजवाद निर्माणमा आर्थिक, सामाजिक, साङ्गठनिक विधि र परिचालनका सम्बन्धमा यसले हामीलाई पुनः स्मरण गरिदिएको छ ।”

अर्का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले आर्थिक विकासलाई कसरी अगाडि बढाउने भन्नेमा चिनियाँ अनुभवले नेपालमा ठूलो भूमिका खेल्ने बताए । “स्वभाविक रुपमा चीनको आर्थिक विकासको स्थिति के हो ? पार्टी अनुशासन कसरी पालना गर्नुपर्छ रु पार्टीका नेताले जनतासँग कस्तो सम्बन्ध बनाउनुपर्छ भन्ने कुरा यो रेफरेन्स हो, उनीहरुको अनुभव लिने हो, आफूलाई अनुकूलअनुसार प्रयोग गर्ने र त्रुटि सच्याउने हो ।”

नेकपाको स्कूल विभागका उपप्रमुख देवेन्द्र पौडेलले चीनबाट अनुभव सिक्ने कुरा गरेको भन्दै सी चिन फिङको विचार मान्ने कुरा नगरेको उल्लेख गर्दै यसअघि पनि विभिन्न पार्टीसँग अन्तरक्रिया गर्दै आएको जानकारी गराए ।

नेकपाका नेताहरुले प्रशिक्षणका बारेमा राम्रो र सकारात्मक प्रतिक्रिया दिएपनि राजनीतिक वृतमा यसको प्रभाव सकरात्मक परेको र पर्ने देखिएको छैन । आमरुपमा सरकारको काम गर्ने तरिकाबाट खुशी नभएको अवस्थामा ‘सी पथ’ को प्रशिक्षण मात्र लिएर कसरी हुन्छ ? काम चीनमा भएको जस्तो हुन्छ त ? भन्ने प्रश्न आमरुपमा उठेको छ । सरकारले डेढ बर्षमा आम जनतामा आशाको संचार गराउन असफल भएको अवस्थामा चिनियाँ विचारको मात्र वकालत गर्नु असान्दर्भिक देखिन्छ । महंगी बढी रहेको छ, जुन सत्तारुढ दलकै नेताहरुले महंगी बढ्यो भनेर टिप्पणी गरिरहेका छन्, भ्रष्ट्राचारका अनेकौ काण्ड बाहिर आएका छन् ।

सामान्य रुपमा बन्नुपर्ने सडक, पुलको निर्माण सहज रुपमा हुन सकेको छैन । असारे विकासको प्रवृतिलाई झन् बढावा दिइएको छ । संस्थागत भ्रष्ट्राचार झन् बढेको छ । यस्तो अवस्थामा ‘सी पथ’ नै अपनाए पनि त्यो विचार मै सिमित हुने देखिन्छ । अहिले काम गरेर देखाउने अवसर पाएको बेला सरकार र सत्तारुढ दल विचारको खेतीमा अल्मलिएको अनुभव भएको छ, जसले आमा जनतामा निराशा नै बढाउछ । मुख्य कुरा अहिले नेतृत्वमा रहेकाहरुले काम गर्ने तरिका बदल्नु हो, जुन हुन सकिरहेको छैन ।

 
 
  
 

You may also like