कोरोना संक्रमित बढेपछि चितवनमा अक्सिजन हाहाकार

चितवन । कोभिड–१९ जटिल सङ्क्रमितलाई उपचार गर्न जिल्लामा अक्सिजन अभाव हुन थालेको । बाहिरी जिल्लाबाट अक्सिजन आउन छाडेपछि यहाँका अस्पतालमा माग अनुसार अक्सिजन नपुगेको हो ।

जिल्लामा कोरोनाका उपचार गराइरहेका दुई सरकारी र दुई मेडिकल कलेजका आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा रहेको छ । पछिल्लो समय बिरामीको संख्या बढेपछि उद्योगबाट अक्सिजन ल्याउनु पर्ने बाध्यता भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार दैनिक एक हजार २०० सिलिण्डर जिल्लाका अस्पतालमा आवश्यक पर्दछ । यहाँको चार अस्पताल र एउटा निजी उद्योगको गरी ८८० सिलिण्डर मात्रै उत्पादन हुँदै आएको छ । दैनिक ३२० सिलिण्डर अक्सिजन जिल्लामा अपुग भएको उनले जानकारी दिए ।

भरतपुर अस्पतालले दैनिक ७५ सिलिण्डर उत्पादन गर्दछ भने २०० खपत गर्दछ । चितवन मेडिकल कलेजको ४०० सिलिण्डर खपत रहेको छ भने उत्पादन ७५ सिलिण्डर मात्रै छ । कलेज अफ मेडिकल साइन्सेसलाई आवश्यक पर्ने ३५० सिलिण्डर आफै उत्पादन गर्दछ । २० सिलिण्डर अक्सिन उत्पादन गर्ने वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको खपत दैनिक एक सय सिलिण्डर रहेको छ ।

निजी अस्पतालले दैनिक १०० सिलिण्डर र अन्य प्रयोगमा ५० सिलिण्डर खपत हुँदै आएको छ । जिल्लामा रहेको एक मात्रै स्वर्गद्वारी अक्सिजन उद्योगले दैनिक ३६० सिलिण्डर उत्पादन गर्दछ । जिल्लाको तथ्याङ्कलाई हेर्दा यहाँका अस्पताल र घरायसी प्रयोगनका लागि ६८० सिलिण्डर दैनिक अभाव हुने गरेको छ । स्वर्गद्वारीको उत्पादन ३६० सिलिण्डर भए पनि दैनिक ३२० सिलिण्डर बाहिरी जिल्लाको भर पर्नु परेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यस अघि काठमाडौं र रुपन्देहीमा प्लान्ट भएको शंकर ग्याँस उद्योग र परवानीपुरमा प्लान्ट भएको भाजुरत्न इञ्जिनियरिङ एण्ड सेल्सबाट अक्सिजन आउने गरेको जानकारी दिए । उनका अनुसार ती उद्योगबाट अहिले आउन रोकिएपछि जिल्लामा समस्या आएको हो । भरतपुर अस्पतालमा शंकर ग्याँसले वर्ष दिनभरका लागि बोलपत्र सकारेको भए पनि ग्यास दिन नसक्दा समस्या भएको छ । उद्योग रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग आफूले निरन्तर रुपमा ग्याँस पठाई दिन अनुरोध गरेको भए पनि नआउँदा समस्या भएको उनको भनाइ छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बिरामी बचाउनै मुस्किल हुने अवस्था आएको बताए । उनले भने, ‘सिलिण्डर खोजेर अहिलेसम्म धानिरहेका छौं, अस्पतालमा कोभिडको शैंया विस्तार गर्ने योजना बनाएको भए पनि अक्सिजनको अभावका कारण समस्या भएको छ ।’

जिल्लाका अस्पतालमा ५० प्रतिशतभन्दा बढी बाहिरी जिल्लाका संक्रमित उपचार गराईरहेका छन् । छिमेकी जिल्लाबाट संक्रमित पठाउने तर अक्सिजन आउन नदिने हुँदा समस्या भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जिल्लामै अक्सिजनको अभाव भएपछि बाहिर जिल्लामा पठाउन नसकिएको जानकारी दिए । रासस

 

 
 
  
 

You may also like