ओली–नेपालबीच आज फेरि भेटवार्ता

काठमाडौं । पार्टी विवाद समाधानका लागि सहमति गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आज (शुक्रबार) साँझ फेरि भेटवार्ता हुने भएको छ । साँझ हुन लागेको बैठकमा कार्यदल सदस्यहरु पनि सहभागी हुने एक नेताले जानकारी दिएका छन् ।

‘अन्तिम समयमा स्थगित नभए पहिलो चरणमा केपी ओली र माधव कमरेडसहित कार्यदलको बैठक आजै साँझ साढे ६ बजेतिर बस्ने भन्ने भएको छ,’ ती नेताले सुनाए । ओली र नेपालबीच बिहीबार भएको एक्ला एक्लै वार्तामा पार्टीको विवाद समाधान गर्न कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको थियो । कार्यदलमा दुई सदस्य पछि थप गर्ने गरी ओलीले आफ्नो पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेलको नाम तय गरेका थिए ।

नेपालले आफ्नो पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्तको नाम तय गरेका थिए । साँझ बस्ने बैठकमा यिनै नेताहरु सहभागी हुने भएका छन् । नेता नेम्वाङले पनि साँझ साढे ६ बजेतिर बैठक बस्ने जानकारी दिए । पार्टी एकता जोगाउन एमालेलाई ०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने र २८ फागुनयता संस्थापन पक्षका निर्णय खारेज हुनुपर्ने नेपाल समूहको मुख्य शर्त छ ।

यी शर्तमा कार्यदलले समाधान खोज्ने सहमति भएपछि अन्तिम समयमा नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएको थियो । सहमतिकै कारण ओली पुनः प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । विपक्षी गठबन्धनले बैकल्पिक सरकारका लागि दावी गर्न नसकेका कारण पुनः प्रधानमन्त्री नियुक्त भएका केपी ओलीले आज सपथ ग्रहण गर्नुका साथै मन्त्रिमण्डल समेत विस्तार गरिसकेका छन् । मन्त्रिमण्डलमा पुरानै अनुहार रहेका छन् ।

 

 
 
  
 

You may also like