तेस्रोपल्ट ओलीले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रोपल्ट पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार शीतलनीवासमा आयोजित समारोहमा राष्ट्रिपति विद्यादेवी भण्डारीले उनलाई शपथ गराएकी हुन् ।

बिहीबार एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति भण्डारीले संसदको ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । उनी संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका हुन् । विपक्षी गठबन्धनले धारा ७६ (२) अनुसार बहुमतको दाबी नगरेपछि उनलाई नियुक्त गरिएको थियो । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पुर्‍याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी थिइन् ।

विहीबार राति ९ बजेसम्म दिइएको समय सीमाभित्र विपक्षी गठबन्धनले बहुमत पुर्‍याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । अब प्रधानमन्त्री ओलीले एक महिनाभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसबेला उनले विश्वासको मत पाएनन् भने धारा ७६ )५) अनुसार राष्ट्रपतिले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउनु पर्ने हुन्छ ।

उसले पनि एक महिनामा विश्वासको मत पाउन नसके प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गर्न पाउँछन् । वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वास गुमाएपछि सबै मन्त्रीहरु पदमुक्त भएका छन् । उनीहरुको पनि आजै पुनर्नियुक्ति हुनेछ ।

 

 
 
  
 

You may also like