कोभिडबाट श्रीमती मृत्यु, शव व्यवस्थापनमा कसैले सहयोग नपाएपछि श्रीमान एक्लैले गरे अन्त्येष्टि

कैलाली । कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चासो नदेखाउँदा श्रीमानले नै खाल्डो खनेर अन्त्येष्टि गर्नुपरेको थियो ।

करीब एक हप्तादेखि भजनी अस्थायी कोभिड अस्पतालमा उपचाररत उनको मङ्गलबार बिहान ३ बजेतिर मृत्यु भएको थियो । मृत्युपछि उनको शव व्यवस्थापन गर्न कोही अघि सरेनन् । नगरपालिकाको टिपरले शव भजनी नगरपालिका–३ मा रहेको कान्द्रा नदी किनारमा छाडेर गयो त्यसपछि मृतकका श्रीमान् आफैले शव व्यवस्थापन गरेको थियो । कसैले खाल्डो खन्ने उपकरण समेत नदिएपछि उनले घरबाटै लिएर जानु परेको थियो ।

भजनी नगरपालिकामा कोरोना सङ्क्रमितको शव व्यवस्थापनका लागि स्वास्थ्य मापदण्ड पालना गरेर बढीमा २५ जना सहभागी हुने गरी भरपाई बनाएर अस्थायी कोभिड अस्पतालले आफन्तलाई जिम्मा दिने गरेको छ । त्यसपछि नगरपालिकाले टिप्पर र जेसिबी प्रयोग गरेर शवको व्यवस्थापन गरिरहेको छ ।

शव व्यवस्थापनका लागि खाल्डो खन्न नगरपालिकाले जेसिबी पठाउने गरेता पनि यस पटक जेसिबीको टायर बिग्रेकाले पठाउन नसकिएको नगर प्रमुख शेरबहादुर चौधरीले बताए । भजनी नगरपालिकाले स्थापना गरेको १५ शैंयाको अस्थायी कोभिड अस्पतालमा स्वास्थ्यकर्मी र उपकरण सँगसँगै अत्यावश्यक खानेपानीको समेत समस्या भइरहेको छ ।

 

 
 
  
 

You may also like