लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमै थप १२ संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको इमर्जेन्सीमा विभागमा उपचाररत उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रूपन्देहीका ७ जना र कपिलवस्तुका ३ जना रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् । यस्तै, नवलपरासी पश्चिम र प्युठानका एक–एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

१२ जनामध्ये ११ जना पुरुष र एकजना महिला रहेका डा. गौतमले बताए । यीमध्ये ५ जनाको गए राति १२ बजे यता बिहानसम्म, ४ जनाको सोमबार दिउँसो साढे ४ बजेपछि राति १२ बजेसम्म मृत्यु भएको हो । एक जनाको २४ गते दिउँसो र दुई जनाको २६ गते मृत्यु भएको उनले बताए। २४ गते र २६ गते मृत्यु भएका संक्रमितको शव व्यवस्थापन नभएकाले मंगलबार मात्र जानकारीमा आएको डा. गौतमले बताए ।

डा. गौतमका अनुसार उनीहरू सबै निमोनियाले ग्रस्त भएर आएका थिए । ‘स्थिति भयावह छ । उपचाररतमध्ये एक सय भन्दा धेरै जना सिकिस्त हुनुहुन्छ’, डा. गौतमले भने, ‘अस्पतालमा अक्सिजनको पनि अभाव भइरहेको छ ।’

 
 
  
 

You may also like