नयाँ सरकार गठन : देउवाले बोलाए विपक्षी दलहरूको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न आज (मंगलबार) विपक्षी दलहरूको बैठक बोलाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमाभित्र के कसरी नयाँ सरकार गठन गर्ने भन्ने विषयमा छलफल गर्न सभापति देउवाले आफ्नो पार्टीका शीर्ष नेतासहित नेकपा माओवादी केन्द्र, जसपालगायत दलका शीर्ष नेतालाई दिउँसो २ बजे आफ्नै निवास (बूढानीलकण्ठ) मा बोलाएको एक कांग्रेस नेताले जानकारी दिएका छन् ।

हिजो सोमबार संसदमा विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदबाट हटेका छन् । त्यस लगत्तै सोमबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरिसकेकी छन् । त्यसका लागि यही वैशाख ३० गतेसम्मको समय दिइएको छ । एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष तटस्थ बसेका कारण नयाँ सरकार गठनमा अंक गणितको अप्ठ्यारो छ ।

 
 
  
 

You may also like