विपक्षी सांसदलाई प्रधानमन्त्रीको जवाफ : संसद विघटनको चिन्ता भए, मलाई मत दिनुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचै वर्ष सरकार चलाउनका लागि आफूले राजीनामा नदिएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा उनले आफूलाई भोट दिएर संसद विघटनतर्फ नधकेल्न आग्रह पनि गरे । आजको बैठकमा प्रतिपक्षी दलका नेताहरुले फेरि संसद् विघटन गर्न लागेको आरोप लगाएका थिए । त्यसको जवाफमा ओलीले आफूलाई विश्वासको पक्षमा मत दिए संसद् विघटन हुन नदिने बताए ।

‘किन राजीनामा नदिएको भन्दा पाँचै वर्ष चलाउन । ठ्याक्कै मिलेको छ नि कुरो । कुरो एउटै छ पाँचै वर्ष चलाऔं । पटक–पटक अस्थिरता नचलाऔं । मिलेर काम गरौं । मत दिनुस्’, उनले थपे, ‘संसद् विघटन होला कि भनेर चिन्ता छ । मत दिनुस् न कसरी हुन्छ विघटन ?’
उनले प्रतिपक्षी दलहरूलाई सोधे, ‘आफै भीरतिर हाम फाल्ने अनि गुरुत्वाकर्षणलाई दोष दिने ?’ ‘विश्वासको मत दिएर स्थिरताको पक्षमा काम गरौं,’ ओलीले भने ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गरी सर्वोच्चले पुनःस्थापना गरेको प्रतिनिधिसभासँग ओलीले जोड दिएर विश्वासको मत मागिरहेका छन् । उनले प्रतिपक्षी दलहरूलाई भने, ‘संसद्को स्थायित्वका लागि मुद्दा लडेर ल्याएको संसद् बचाउँ, भोट दिउँ ।’ एउटै प्रधानमन्त्री रहोस् र स्थायित्व होस् भनेर संविधानमा नै दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था रहेको पनि ओलीको भनाइ थियो ।

 
 
  
 

You may also like