सन्दर्भ बिश्व प्रेस स्वतन्त्रता दिवस :अभिब्यक्ति स्वतन्त्रता र श्रमजिवी पत्रकारका समस्याप्रति सरकार उदासिन

हरिश ढकाल
बुटवल। नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोख्रेलले प्रेस स्वतन्त्रता माथि हुने हरेक आक्रमणका बिरुद्ध मानव अधिकारकर्मी, नागरिक समाज, पत्रकार ऐक्यबद्ध भई लाग्नु पर्नेमा जोड दिएका छन्। श्रमजिवी पत्रकारका समस्याप्रति सरकार उदासिन रहेको टिप्पणी गर्दै अध्यक्ष पोखरेलले सरकार नागरिकका अधिकार र प्रेसको अधिकार संकुचन गर्ने कार्यमा प्रयासरत रहेको बताए।
बिश्व प्रेस स्वतन्त्रता दिवश ३ मार्चका अवसरमा मानव अधिकार तथा शान्ति समाज केन्द्रिय समितिद्धारा आज आयोजित कोभिड प्रकोप र श्रमजिवी पत्रकारको अवस्था बिषयक भर्चुवल अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले ४५ वटा प्रेस स्वतन्त्रता बिरुद्ध भएका घटनामा ७७ जना महिला पत्रकार सहित ५ सय ८४ पत्रकारहरु पीडित भएको जानकारी गराए। मानव अधिकार र स्वतन्त्रता समुन्नत लोकतन्त्रका आधार भएको बिचार उनले ब्यक्त गरेका थिए।
४५ जना सहभागि रहेको सो भर्चुवल कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनाल, समाजका संस्थापक सदस्य कृष्ण कँँडेल, पूर्ब सभापति होमकान्त चौलागाई, बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, सामाजिक अभियान्ता प्रताप पौडेल, दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष तथा संबिधान सभा सदस्य बिनोद पहाडी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डे, महासंघ रुपन्देही शाखा सभापति रामराज पोख्रेल, समाजका सचिव पुष्पा मल्ल अनुशासन समितिका संयोजक डिक घिमिरे लगायतले प्रेस स्वतन्त्रता र अभिब्यक्ति स्वतन्त्रता पुर्णरुपले स्थापित भएमा मात्र मानव अधिकारको संरक्षण हुने धारणा ब्यक्त गरेका छन्।
कार्यक्रममा शान्ति समाजका बरिष्ठ उपसभापति सुशील बस्नेत, महासचिव रामकृष्ण बराल, सचिव मिना ढकाल लगाएतले नेपालको लोकतन्त्र र प्रेस स्वतन्त्रताको रक्षाको लागि मानव अधिकार तथा शान्ति समाजले खेलेको भुमिकाको बारेमा चर्चा गरेका थिए। कोभिड कहरका कारण शान्ति समाजले मे १ दिन बिश्व श्रमिक दिवस पनि भर्चुअल मार्फत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो। कोरोना कहरको दोश्रो लहर निकै तिब्र गतिमा आक्रामक ढंगले फैलिईरहेकोले सचेत र सजग भै सुरक्षित रहन शान्ति समाजले आग्रह गरेको छ।

 
 
  
 

You may also like